विपन्नको घर बनाउँदै गल्याङ नगरपालिका



अमृत अर्याल, स्याङजा ।
स्थानीय युवाहरुको सहयोगमा अति विपन्न परिवारको घर बनाउने कामलाई स्याङ्जाको गल्याङ नगरपालिकाले तिब्रता दिएको छ । गल्याङ नगरपालिका १० बाट सुरु गरिएको विपन्नको घर बनाउने अभियान नगरपालिकाका अन्य वडाहरुमा पनि विस्तार गर्ने क्रममा गल्याङ नगरपालिका ५ रुपाखानीमा पनि घर निर्माणको काम सुरु गरिएको हो ।
विपन्न परिवारका लागि आवास निर्माण शुभारम्भ कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरपालिकामा रहेका सबै विपन्न परिवारको घर बनाउने प्रतिबद्वता जनाउनुभयो । उहाँले भन्नुभयो –‘एक वर्ष भित्रमा सबै विपन्नको घर बनाएर छाड्नेछौं ।’

नगरपालिकामा अहिलेसम्म करिब ७५ वटा घर बनाउनुपर्ने अवस्थामा रहेको र थप भएमा पनि बनाउने नगरप्रमुख अधिकारीले बताउनुभयो । नगरपालिकाले जस्तापाता दिएर पनि घर बनाउन नसक्ने परिवारका लागि नगरपालिकाले आफै घर बनाइदिन लागेको उहाँको भनाई छ । एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने संस्कृति लोप हुँदै गएको भन्दै नगरप्रमुख अधिकारीले संस्कृति र विकासलाई सँगसँगै जोड्नका लागि यो अभियान थालिएको बताउनुभयो ।

सकारात्मक सोचका साथ सहयोगको भावनाको विकास गर्नुपर्ने भन्दै उहाँले सबैभन्दा बढि विपन्न परिवारको सहयोग गर्ने सोच बनाउनुपर्नेमा जोड दिनुभयो । गास, बास र कपासको ग्यारेण्टी अब नगरपालिकाले लिने भन्दै नगरप्रमुख अधिकारीले अबको दश वर्षसम्ममा नगरपालिकामा कोही गरिब नरहने बताउनुभयो । युवा संघ र तरुण दल जस्ता राजनीतिक पार्टीका भातृ संगठनले पनि अब विपन्न परिवारका घर बनाउने कामका लागि प्रतिस्पर्धा गर्न उहाँले सुझाब दिनुभयो ।

फरक प्रसङ्गमा नगरप्रमुख अधिकारीले कृषि उत्पादनको बजारको ग्यारेण्टी नगरपालिकाले लिने भन्दै उत्पादनमा जोडिन आग्रह गर्नुभयो । अहिले नगरपालिकामा आठ देखि दश करोडको अदुवा रहेको भन्दै उहाँले यसको विस्तारका लागि नगरपालिका जुटिरहेको बताउनुभयो । उहाँले नगरपालिकामा बाख्रापालनका लागि ३० करोड रुपैयाँको परियोजनाको काम सुरु भएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले अति विपन्न परिवारका लागि नगरपालिकाले थालेको यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । नगरपालिकाले मात्रै गर्न खोजेर सम्भव नभएको भन्दै उहाँले विपन्नको घर निर्माणका लागि स्थानीयको उत्तिकै साथ र सहयोग हुनुपर्ने बताउनुभयो ।

गल्याङ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुबहादुर बस्याल क्षेत्रीले सबैको सहयोगमा छिट्टै घर निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिवालय सदस्य लोकेन्द्र थापामगरले गल्याङ नगरपालिकाले विपन्न परिवारका लागि उदाहरणीय काम गरिरहेको बताउनुभयो । स्थानीय समाजसेवी घनश्याम भट्टराईले घर बनाउन घडेरी समेत नभएका विपन्न परिवारका लागि घडेरीको व्यवस्था गर्ने प्रतिबद्वता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्