फ्रान्स र पोर्चुगलले बराबरी खेले



लन्डन, (एजेन्सी)
यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत बहुप्रतिक्षित खेलमा वर्तमान विश्व च्याम्पियन फ्रान्स र युरोपियन च्याम्पियन पोर्चुगलले बराबरी खेलेका छन्।
सोमबार बिहान फ्रान्सको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै समान एक÷एक अंक बाँड्न बाध्य भए। सन् २०१६ का फाइनललिस्ट टोली पोर्चुगल र फ्रान्स चार वर्षपछि पहिलोपटक आमनेसामने हुँदा बराबरीको नतिजा आएको हो।
घरेलु टोली फ्रान्सले पोर्चुगलको गोलपोस्टमा तीनपटक सही दिशामा प्रहार गर्दा पोर्चुगलले पनि फ्रान्सको गोलपोस्टमा तीनपटक नै हानेको थियो। फ्रान्सविरुद्ध पोर्चुगलले प्रभावशाली प्रदर्शन गर्दै खेलभरि नै दबाब सिर्जना गरेको थियो। तुलनात्मकरूपमा दुवै टोलीले बराबरीजस्तो अवसर बनाए भने आक्रमण पनि औसतमा बराबरी नै गरे। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको ३३औं मिनेट र अन्तिम समयमा गरी दुईपटक गरेको राम्रो प्रयास विफल भएको थियो।
यता, फ्रान्सका लागि घरेलु मैदानमा क्लियन एमबाप्पे र ओलिभर जिरुडले पटक–पटक गोलका अवसर गुमाए भने पाउल पोग्बाको दुईवटा प्रहार पनि पोर्चुगिज गोलकिपरले विफल तुल्याइदिएका थिए। त्यस्तै, एन्टोनी ग्रिजम्यान पनि दुई अवसरमा चुकेका थिए।
बराबरी नतिजापछि दुवै टोलीले एक÷एक अंक बाँड्दा पोर्चुगल अझै पनि तीन खेलबाट ७ अंक बनाएर आफ्नो समँहको शीर्ष स्थानमा यथावत् छ। समान तीन खेलबाट ७ अंक नै बनाएको फ्रान्स भने दोस्रो स्थानमा छ। तीन अंक भएको क्रोएसिया तेस्रो स्थानमा छ।
यसै समँहको तेस्रो स्थानमा रहेको लुका मोड्रिचको टिम क्रोएसियाले पनि लिगमा पहिलो जित दर्ता गरेको छ। सोमबार बिहान भएको खेलमा क्रोएसियाले आफ्नो घरेलु मैदानमा पाहुना टोली स्वीडेनमाथि २–१ गोलअन्तरको जित निकालेको छ। क्रोएसियाले यसअघिका दुवै खेल हारेको थियो।
क्रोएसियाका लागि खेलको ३१औं मिनेटमा निकोला भ्लासिचले पहिलो गोल गरेर टिमलाई पहिलो हाफसम्म १–० को अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा पाहुना टोली ६६औं मिनेटमा खेलमा फर्कियो। सो गोल मार्कुस बर्गले गरेका थिए।
प्रतिस्पर्धात्मक खेल बराबरीतर्फ उन्मुख रहेका बेला खेलको ८४औं मिनेटमा क्रोएसियाका लागि आन्द्रे कर्मारिचले गोल गरेपछि खेल क्रोएसियाले २–१ ले जित्यो। उक्त जितपछि क्रोएसियाले तीन म्याच सकिँदा पहिलो जित निकाल्दै ३ अंक जोडेको छ। स्वीडेन भने तीनवटै खेल हारेर सबैभन्दा पुछारमा छ।
नेसन्स लिगअन्तर्गतकै अर्को खेलमा इंग्ल्यान्डले पनि वर्तमान विश्व वरीयतामा शीर्ष स्थानमा रहेको बेल्जियममाथि २–१ को जित निकालेको छ। एक गोलले पछि परेको स्थितिलाई उल्ट्याँदै खेल जित्ने क्रममा इंग्ल्यान्डका लागि मार्कस रासफर्ड र मेसन माउन्टले गोल गरे। बेल्जियमका लागि भने रोमेलु लुकाकुले पहिलो गोल गरेका गरेका थिए।
खेलको १६औं मिनेटमा एरिक डाएरले रोमेलु लुकाकुलाई डिबक्समा लडाएपछि बेल्जियमले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रोमेलु लुकाकुले पहिलो गोल गरेका थिए। तर, ३९औं मिनेटमा बेल्जियमले आफ्नो अग्रता गुमायो। थोमस मुनिएरले इंग्ल्यान्डका कप्तान जोर्डन हेन्डरसनलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रासफर्डले बराबरी गोल गरेका थिए।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने बेल्जियमले दोस्रो गोल व्यहोरेको थियो। इंग्ल्यान्डका लागि ६४औं मिनेटमा मेसन माउन्टले गोल गर्दै २–१ को अग्रता दिलाए। माउन्टको गोल निर्णायक बन्न पुग्दा बेल्जियम २०२० मा पहिलोपटक पराजित भएको छ।
हल्यान्डको ह्याट्रिक
नर्वेका युवा स्टार फरवार्ड अर्लिङ हल्यान्डले अन्तर्राष्ट्रिय फुटबलमा करिअरको पहिलो ह्याट्रिक दर्ता गराएका छन्। सोमबार बिहान भएको खेलमा नर्वेले आफ्नै घरेलु मैदानमा भएको खेलमा रोमानियालाई ४–० गोलअन्तरले हराउने क्रममा हल्यान्डले तीन गोल गर्दै ह्याट्रिक पँरा गरेका छन्। उनले रोमानियाविरुद्ध खेलको १३औं, ६४औं र ७४औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पँरा गरेका हुन्।
योसँगै २० वर्षका हल्यान्डले अन्तर्राष्ट्रिय फुटबलमा सिनियर टोलीका लागि पहिलो ह्याट्रिक दर्ता गराएका छन्। यसअघि उनले जुनियर टोलीमा एकै खेलमा ९ गोलसम्म गरे पनि सिनियर टोलीका लागि भने ह्याट्रिक गर्न सकेका थिएनन्।
हल्यान्डले राष्ट्रिय टिमका लागि पहिलो ह्याट्रिक गर्न मात्रै ६ खेल लाग्यो। उनले देशको सिनियर टोलीको जर्सीमा छैठौं खेल खेल्ने क्रममा पहिलो ह्याटिक गर्न सफल भए। उनले हालसम्म नर्वेका लागि ६ म्याच खेल्दै कुल ६ गोल नै गरेका छन्। जसमा एक ह्याट्रिकसहित एक असिस्ट पनि गरेका छन्। हल्यान्ड नर्वेको फुटबल इतिहासमा सबैभन्दा थोरै खेल र कम समय खेलेर सबैभन्दा चाँडो ह्याट्रिक गर्ने खेलाडी पनि बनेका छन्।

प्रतिक्रिया दिनुहोस्