हरिप्रसाद शर्माका चित्रहरुको उपहार पुस्तकका लागि सम्झौता

अवस्थालाई आकृतिमा जीवन्त बनाउने प्रयास गरेका हौं - मेयर शाक्य



न्युज अफ नेपाल,काठमाडौं ।

अवस्थालाई जीवन्त बनाउन काम थालेको बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — बस्तुको ऐतिहासिकता जोगाउन आकृतिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । हरिप्रसाद शर्माका चित्रहरुको उपहार पुस्तक प्रकाशन सम्बन्धमा आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको सम्झौतापछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो ।

पुस्तक प्रकाशनका लागि महानगरका प्रमुख शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको रोहबरमा महानगरकातर्फबाट सम्पदा बिभागका प्रमुख अर्चना श्रेष्ठ र सोसल साइन्स बहाः का तर्फबाट प्रा. निर्मलमान तुलाधरले हस्ताक्षर गर्नुभयो । ‘रानी पोखरीको पुननिर्माण गर्दा हामीले चित्रलाई नै आधार लिएका थियौं । चित्रलाई आधार लिएर पुननिर्माण गरेपछि अहिले सबैतिरबाट प्रशंशा भएको छ ।

यसको अर्थ अवस्थालाई जीवन्त बनाउन चित्र चाहिन्छ भन्ने हो ।’ प्रमुख शाक्यले थप्दै भन्नुभयो — ‘हामीले व्यक्तिको योगदानलाई ग्रहण गरेका छौं । आशा छ । स्थानीय भाषा, धर्म, लिपी, नृत्य, बाद्यबादन, जात्रा पर्वजस्ता अमूर्त सम्पदा जोगाउने महानगरको नीति हो । चित्रहरुको उपहार पुस्तकले काठमाडौंमार्फत नेपालको अन्तरराष्ट्रिय स्तरमा चर्चा हुनेछ ।’

त्यस क्रममा बोल्दै सोसल साइन्स बहाः का अध्यक्ष प्रा. तुलाधरले, पुस्तकको गुणस्तरमा कुनै कमी हुन नदिने बताउनुभयो । त्यस्तै चित्रकार शर्माका छोरा विष्णुप्रसाद शर्माले नेपालको इतिहास भविष्यका लागि अभिलेखीकरण हुने भएकोले आफू खुशी भएको बताउनुभयो । यी चित्रबाट काठमाडौंका अमूर्त सम्पदालाई अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन सहज हुनेछ । उहाँको भनाइ थियो ।

पुस्तकको प्रकाशक काठमाडौं महानगरपालिका र सहप्रकाशकमा सोसल साइन्स बहाः हुनेछ । चित्र र पुस्तकमा समेटिएको बौद्धिक सम्पत्तिको सर्वाधिकार चित्रकारलाई दिइएको छ । दोस्रो पक्षले अति बिशिष्ट १०० प्रति र बिशिष्ट २०० प्रति पुस्तक महानगरलाई उपलब्ध गराउनेछ ।
चित्रकारलाई रोयल्टीवापत् ३ लाख रुपैयाँ उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्