‘गंगटो होईन माछा जस्तै बन्नुस’ – पुर्व मन्त्री बास्कोटा

३३ वर्ष अघि लिएको काँग्रेसको सदस्यता त्याग्दै नेकपामा



मोतीराम तिमल्सिना,काभ्रे ।

नेकपा केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज तथा पुर्व मन्त्री गोकुल बास्कोटाले नेकपा समुन्द्र जस्तै भएकाले थोपा थोपा थपिएर विशाल समुन्द्र बन्ने अभियानमा जुटेको बताउनु भएको छ । ‘नेताहरुले बाटो विराए भने पनि कार्यकर्ताहरु दाँयाबाँया हुनु हुँदैन’–नेता बास्कोटाले भन्नुभयो–‘नेता र कार्यकर्ता सबै गगंटो जस्तो नभई माछा जस्तै बन्नु पर्छ ।’

पार्टी एकिकरण भएको लामो समयसम्म जिल्लामा बैठकसम्म बस्न नसकेको प्रति नेता बास्कोटाले आफै इन्चार्ज भएकाले त्यसको अपजस कति लिनु पर्ने हो ? त्यति लिने बताउँदै पार्टी भित्रै निषेधको राजनीति गर्ने जो कोहि भए पनि कार्यकर्ताहरुले बाँकी नराख्ने बताउनु भयो । आफ्नै गृह नगर मण्डनदेउपुर नगरपालिकाबाट नेपाली कांग्रेसको वडा उप सभापति सहित दर्जनौ नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै नेता बास्कोटाले भागबण्डा नमिल्दा जिल्लाको एकिकरणको कार्यमा सुस्तता आएको बताउनु भयो । ‘नेतृत्वले गलत कुरा सच्याउन जरुरी छ’–नेता बास्कोटाले भन्नुभयो–‘पार्टी र संगठनलाई मजबुत नबनाउँदा समेत पार्टी कामले गति लिन सक्दैन । पार्टी पोखरी नभई समु्न्द्र भएकाले पौडन जान्नु पर्छ ।’

५/७ वर्ष भित्र काठमाडौको भन्दा धेरै विकास काभ्रेमा हुने बताउँदै पुर्व मन्त्री बास्कोटाले १ सय ४६ वर्ष देखि नेपालको नक्सा र अतिक्रमण भएको भूमिका बारेमा बोल्न नसकेको अवस्थामा केपी ओली नेतृत्वको सरकारले नक्सा जारी गरी भूमि फिर्ताको काम शुरु गरेको बताउनु भयो । जिल्लाका अधिकांश स्थानीय सरकार मार्फत संघ र प्रदेश सरकारको बजेट विनियोजन भई महत्वपूर्ण आयोजना संचालन भइरहेकाले नागरिकहरुको तर्फबाट आयोजनाको अनुगमन, ब्यवस्थापन र समयमै सम्पन्न गर्ने कुरामा खवरदारी गर्न पुर्व मन्त्री बास्कोटाले अनुरोध गर्नु भयो ।

पार्टी प्रवेशमा उत्साह बढेकाले विचारमा रुपान्तरण गरी राष्ट्रिय आत्मसर्मपणबादको पक्षमा लागेको नेपाली काँग्रेसले कायम गर्न नसकेको छिमेकीसँगको सम्वन्ध प्रधानमन्त्री केपी ओलीले कायम गर्नु भएको, सरकार र पार्टी विरोधी भ्रमहरु चिर्दै गएको पुर्व मन्त्री बास्कोटाले बताउनु भयो । नवप्रवेशिहरुलाई स्वागत गर्दै पुर्व मन्त्री बास्कोटाले खहरे खोला जस्तै केहि बेर बगेर रोकिने भन्दा इन्द्रावती जस्तै निरन्तर बग्नेगरी कार्य गर्न शुभकामना दिनु भयो ।

पार्टी प्रवेश गर्ने नेपाली काँग्रेस मण्डन देउपुर वडा नम्वर ५ का उपसभापति सुर्दशन ढकालले २०४४ साल फागुनमा सदस्यता लिएको नेपाली काँग्रेस त्याग्दै विकास र समृद्धीका लागि निरन्तर कृयाशिल पार्टी नेकपामा प्रवेश गरेको बताउनु भयो । ‘मलाई पद भन्दा ठुलो देश र देशप्रतिको माया, नागरिकहरु प्रतिको विश्वास, सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना ठिक लाग्यो र पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने निर्णय गरें’–सुर्दशन ढकालले भन्नुभयो ।

युवा केदार ढकालले कम्युनिष्ट पार्टीले लिएको नीति र कार्यक्रम सफल र सबल रहेकाले नेकपामा प्रवेश गरेको बताउनु भयो । नेताहरु शेरबहादुर डोटेल, रिता ढकाल, विदुरप्रसाद सापकोटाले मण्डनदेउपुरका १२ वटै वडामा पार्टी प्रवेशको कार्यक्रम शुरु गरिएको घोषणा गर्नु भएको थियो । पार्टी एकिकरणको काम नसकिए पनि जनवर्गिय संगठनको कार्य शुरु भएको घोषणा गर्दै तत्काल एकिकरणको कार्य सम्पन्न गर्न अनुरोध गरे ।

पार्टी प्रवेश कार्यक्रममा नेताहरु कञ्चन अधिकारी, धुर्व काफ्ले, हरि खतिवडा, रुद्रबहादुर तामाङ, पुस्कर ढकाल, कुमार भट्टराई, युवा संघका सह संयोजक राजकुमार श्रेष्ठ लगायतले नवप्रवेशिहरुलाई बधाई तथा शुभकामान दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्