लिबियामा अपहरित सात भारतीय मुक्त



ट्युनिस ।

लिबियामा अपहरणमा परेका सात जना भारतीय नागरिक अपहरण मुक्त भएको बताइएको छ । ट्युनिसियाका लागि भारतीय राजदूतले सो कुराको जानकारी दिनुभएको हो । उहाँले सो अपहरणमा परेका सात जना भारतीय नागरिकलाई आइतबार अपहरणकारीले मुक्त गरेका जानकारी दिनुभयो ।

उनीहरु लिबियाको आसेरिफ भन्ने ठाउँबाट गत सेप्टेम्बरको १४ तारिखमा अपहरणमा परेका थिए । उनीहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक रहेका पनि उहाँले बताउनुभयो ।

भारतले गत बिहीबार मात्र आफ्ना नागरिकहरु अपहरणमा परेका जनाएको थियो । त्यसपछि ट्युनिसियामा रहेको भारतीय दूताबासले उनीहरुको अवस्थाको बारेमा खोजी शुरु गरेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्ना नागरिकहरु लिबियामा अपहरणमा परेका र उनीहरुको खोजी कार्य जारी रहेको जानकारी गएको बिहीबार मात्र दिनुभएको थियो । लिबियामा भारतको राजदूताबास नरहेकोले ट्युनिसियामा रहेको दूताबासबाट उनीहरुको बारेमा खोजी थालिएको थियो ।

भारत सरकारले लिबिया सरकार र अरु पनि अधिकारवादी संघसंस्थाहरुलाई आफ्ना नागरिकको खोजी गरिदिन आग्रह गरेको थियो । पछि अपहरणकारीहरुले नै भारतीय नागरिक आफ्नो सम्पर्कमा रहेका र उनीहरु सकुशल रहेका भनी तस्बिर सार्वजनिक गरेका थिए ।

त्यसलगत्तै उनीहरुले ती भारतीयलाई अपहरणमुक्त गरिदिएका बताइएको छ । अपहरणको कारण र उनीहरुलाई के कसरी रिहा गरियो भन्ने बारेमा भने केही पनि बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस्