आरन, बाजा र खेलकुद सामाग्री हस्तान्तरण गर्दै धुलिखेलको काभ्रे भञ्ज्याङ्गमा पार्क उद्घाटन



मोतीराम तिमल्सिना, धुलिखेल ।

धुलिखेल नगरपालिकाको वडा नम्वर ९ को काभ्रेभन्ञ्जयाङ्गमा काभ्रेभञ्ज्याङ्ग पार्क उद्घाटन गरिएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले पार्कको उद्घाटन गर्दै धुलिखेल नगरका सबै वडाहरुमा पाँच वर्ष भित्र ६५ वटा पार्क निर्माण गर्ने घोषणा अनुरुप काभ्रे भन्ज्याङ्गमा पार्क निर्माण गरिएको बताउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ फागुन ५ गते काभ्रेभन्ज्याङ्गमा मदन भण्डारीको अर्काे पार्क उद्घाटन गर्नु भएको छ । पार्क नै पार्कको शहर भनेर चिनिन थालेको धुलिखेलमा पार्क निर्माणमा स्थानीयहरुको समेत सक्रियता छ । केहि दिन अघि धुलिखेल वडा नम्वर २ मा स्व. वडा अध्यक्ष राजन कोईरालाको पार्क उद्घाटन गरिएको छ भने धुलिखेल नगरपालिकाको वडा नम्वर ४ मा बुद्ध पार्कको उद्घाटन गरिएको थियो । नगरपालिकाले हालसम्म २७ वटा पार्कको निर्माण सकेको छ भने १० वटा पार्क निर्माण सम्पन्नको अन्तिम चरणमा छन् ।

नगर प्रमुख ब्याञ्जुले पार्कमा बालबालिका देखि जेष्ठ नागरिकहरु सम्मको सहजता रहनेछ । नगरपालिकालाई बालमैत्री, मानवअधिकार मैत्री र विकासका हिसावले समृद्ध बनाउने अभियान अन्र्तगत आधारभुत आवश्यकता सडक, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधार निर्माणमा नगरपालिकाले कार्य गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

काभ्रेभन्ज्याङ्गमा सरकारले लगानी बोर्ड मार्फत मेडिसिटी अस्पताल निर्माणका लागि प्रस्ताव गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । औधोगिक ग्राम निर्माण, सामुहिक ब्यवसायिकता तथा रोजगारका लागि उद्यमहरु निर्माण गरिने बताउनु भयो । कार्यक्रममा नगरपालिकाले दलित समुदायका युवाहरुका लागि ११ किसिमका एक सेट बाजा उपलब्ध गराएको छ भने आधुनिक प्रविधिबाट संचालन गरिने आरन एक थान उपलब्ध गराएको छ । त्यस्तै युवाहरुका लागि खेलकुदका सामाग्रीहरु उपलब्ध गराएको छ ।

कार्यक्रममा वडा अध्यक्ष बसन्त रानाभाटले वडा नम्वर ९ का नागरिकहरुको विकासको चाहनालाई पुरा गर्ने अभियान निरन्तर रहेको बताउनु भयो । वडा नम्वर ९ का विभिन्न बस्तिहरुमा आवश्यकता अनुसार विकास निर्माणका कार्य भईरहेको बताउँदै रानभाटले बाँकी अवधीमा बाचा गरे भन्दा धेरै आयोजनाहरु संचालन गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा नगरपालिका उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु निराजन जंगम, बसन्त रानाभाट, पुस्प राउत, विष्णु धिताल, समाजसेवी रामकृष्ण हुमागाई, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, वडा सदस्यहरु, स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो । पार्क निर्माणका लागि धुलिखेल नगरपालिका र वडा कार्यालय मार्फत ६ लाख रुपैया खर्च भएको छ । उपभोक्ता समितिका अध्यक्ष सरोज हुमागाईले पार्क निर्माणसँगै संरक्षणका लागि आवश्यक योजना बनाएको बताउनु भयो ।

उपभोक्ता समितिमा सचिव उपेन्द्र हुमागाई, कोषाध्यक्ष रेनुका दाहाल रहनु भएको छ भने सदस्यहरुमा मोहनप्रसाद हुमागाई, प्रकाश हुमागाई, प्रल्हाद शर्मा, मिना विक रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्