दसैँको पूर्व सन्ध्यामा जेष्ठ नागरिक र एकल महिलालाई कपडा उपहार



मोतीराम तिमल्सिना, काभ्रे । 

दसैँको पुर्व सन्ध्यामा धुलिखेल नगरपालिका वडा नम्वर १० शारदा बतासेले जेष्ठ नागरिक र एकल महिलाहरुको सम्मान स्वरुप कमिज सुरुवाल र धोती चोला उपहार प्रदान गरेको छ । १ सय ५० ब्यक्तिहरुलाई वडा कार्यालयले सम्मान स्वरुप उपहार प्रदान गरेको अध्यक्ष पुस्प राउतले जानकारी दिनु भयो ।

‘जनप्रतिनिधिहरुले नागरिकहरुलाई सरकार भएको अनुभुति दिलाउन हरेक वर्ष जेष्ठ नागरिक दिवसको अवसरमा सम्मान गर्दै आएका छौं’– वडा अध्यक्ष पुष्प राउतले भन्नुभयो–‘एकल महिला र जेष्ठ नागरिकहरुले घरदैलोको स्थानीय सरकारलाई अभिभावकको महसुस गराएका छौं ।’ ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरु १ सय ५० जनालाई वडा कार्यालयले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा पुरुष ३५ जना र महिला १ सय १५ जना छन् । एकल महिला ८७ जना छन् ।

धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा चौलागाईले जेष्ठ नागरिकहरु सम्मानित गर्न पाएकोमा ुखशी ब्यक्त गर्दै जेष्ठ नागरिकहरुको सुरक्षा र स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्नु भयो । उमेर ढल्कँदै गए पछि जेष्ठ नागरिकहरुलाई माया र ममताको खाँचो बढी हुने बताउँदै उपप्रमुख विमला शर्माले जेष्ठ नागरिक र एक महिलाको सबैले सम्मान गर्नु पर्नेमा जोड दिनु भयो । वडा नम्वर १० ले हरेक वर्ष दशैको अवसरमा जेष्ठ नागरिकहरुलाई कपडा उपलब्ध गराउँदै आएको छ ।

इतिहासका सर्जक, स्रष्टा र समाज निर्माणका संवाहक जेष्ठ नागरिक र एकल महिलाहरुको सम्मान गर्न सके मात्रै नयाँ पुस्ताले गर्ने कार्य सफल हुने बताउँदै वडा अध्यक्ष राउतले वडामा भौतिक पूर्वाधारका कार्यहरुसँगै सामाजिक कार्यहरु पनि गरिरहेको बताउनु भयो । जेष्ठ नागरिक क्लिनिक संचालन, महिला सुत्केरी तथा गर्भवतिहरुलाई पोषिलो खाना वितरण, कृषकहरुलाई रसायनिक मलमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने कार्यक्रम निरन्तर गरिरहने अध्यक्ष राउतले बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले नागरिकहरुको सुरक्षामा स्थानीय सरकारले दिएको चासो र जेष्ठ नागरिकहरुको सम्मानले उहाँहरुमा बढ्ने आत्मविश्वासलाई कायम राख्न निरन्तर सम्पर्कमा रहनु पर्ने बताउनु भयो । स्थानीय सरकारले भौतिक पूर्वाधार मात्रै नभई यस्ता कार्यहरुमा पनि चासो दिनु पर्नेमा अध्यक्ष तिमल्सिनाले जोड दिनु भयो । कार्यक्रममा वडा सदस्य देवराज शाह, वडा सचिव इश्वर सापकोटा लगायतले जेष्ठ नागरिक र एकल महिलाको सम्मानले नागरिकहरुमा उत्साह भरिएको बताउनु भयो ।

कोभिड १९ का कारण हरेक वर्ष एकै स्थानमा गरिदै आएको कार्यक्रम यो वर्ष वडा कार्यालय, बालज्योती स्कुलको प्राङ्गण र फस्कोटमा गरिएको छ । जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण, सम्मान र स्वास्थ्य परिक्षण जस्ता कार्यक्रमहरु निरन्तर गरिने वडा अध्यक्ष राउतले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्