लायन्सको आइसोलेसन प्रदेश सरकारलाई



नेपाल समाचारपत्र, विराटनगर
विराटनगर–१२ को सामुदायिक भवनमा ३० बेडको कोभिड–१९ आइसोलेसन केन्द्र तयार गरी लायन्स क्लब डिस्ट्रिक ३२५ ए वानले प्रदेश–१ सरकारलाई शुक्रबार हस्तान्तरण गरेको छ ।
सय दिनसम्मको व्यवस्थापन क्लबले गर्ने गरी आइसोलेसन सेन्टर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको लायन्स क्लब ३२५ ए वानका पूर्वगभर्नर लीलाकुमार ढुंगेलले बताउनुभयो । झन्डै ३० लाखको लगानीमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको ढुंगेलको कथन छ । आइसोलेसन केन्द्र उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले आईसीयूसहितको प्रबन्ध प्रदेश सरकारले गर्ने बताउनुभयो ।
सो अवसरमा मुख्यमन्त्री राईले आइसोलेसन सेन्टरहरुमा आईसीयू तथा अक्सिजन प्लान्टसहितको सेवा सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुुभयो । उहाँले दिन प्रतिदिन बढिरहेको कोभिड संक्रमतिहरुको उपचारका लागि कोभिड अस्पतालहरुले मात्र धान्न नसक्ने भन्दै त्यसका लागि आइसोलेसन केन्द्रहरु स्वास्थ्य उपचारसहितको प्रबन्ध मिलाउने व्यवस्था गर्न लागिएको बताउनुुभयो ।
कोभिड महामारी नियन्त्रण एवं रोकथामका लागि तीनै तहको सरकारले हरसम्भव प्रयास गरिरहेको भन्दै उहाँले सक्रमण रोकथाम तथा नियन्त्रणका लागि संघ–संस्थाहरुको सहयोग आवश्यक रहेकोमा जोड दिनुुभयो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले चाडपर्वमा हुुने भेटघाट र आवत–जावतका कारण संक्रमण बढ्न सक्ने भन्दै कोभिड संक्रमितहरुको सहज उपचारका लागि उपचार कक्षको व्यवस्था गर्न प्रदेश सरकारले प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्नुुभयो ।
विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की तथा प्रदेश नम्बर–१ का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आइसोलेसनभन्दा पनि आईसीयू र भेन्टिलेटरसहितको उपचार केन्द्र बनाउनुुपर्नेमा जोड दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस्