सुआरेजलाई बेच्नुको कारण मेसी



मेड्रिड, (एजेन्सी)
लुइस सुआरेजले बार्सिलोनाले एटलेटीको मेड्रिडमा उनलाई बेच्नुको कारण लियोनेल मेसी रहेको रहस्य खोलेका छन्। सुआरेजले मेसीलाई समर्थन गरेपछि बार्सिलोनाले छुट्याएको बताए। रोनाल्ड कोइम्यान मेनेजरमा आएपछि सुआरेजलाई केवल ५ दशमलव ५ मिलियन पाउन्डमा बेचेको थियो।
उरुग्वेका स्टार खेलाडी सुआरेज बार्सिलोनाका लागि सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा रहेका छन्। उनीभन्दा अघि मेसी र सेजार रहेका छन्। सुआरेजले बार्सिलोनाका लागि ला लिगा र कोपा डेल रे चार–चार उपाधि तथा च्याम्पियन्स लिग एक उपाधि दिलाउन योगदान दिएका थिए।
मेसीले गत अगस्टमा बार्सिलोना छाड्ने निधो गर्दा क्लबका अध्यक्ष जोसेप बार्टोमेउले उनलाई निःशुल्क नछाड्ने अडान लिएका थिए। यसले गर्दा उनको ७ सय मिलियनको ट्रान्सफर क्लोज कुनै क्लबले पनि तिर्न नसक्दा मेसीलाई नउ क्याम्पमै रहन बाध्य तुल्यायो। सुआरेजले मेसीले क्लब छाड्ने निर्णयप्रति समर्थन जनाएका थिए।
सुआरेजका अनुसार बार्सिलोनाका अध्यक्ष उनको यो समर्थनमा रिसाएका थिए। उनले भने– ‘मेसीसँग मेरो सम्बन्ध अझै गाढा छ। तर, उनले क्लब छाड्ने भनेपछि क्लबले उनलाई मुक्ति दिएन। उनी निकै निराश भएका थिए। त्यस्तो कठिन परिस्थितिमा मैले मेसीलाई समर्थन जनाएँ। पछि, क्लबले हाम्रो सम्बन्धलाई अलग बनायो। म बेच्नुको कारण मेसीलाई समर्थन गर्नु नै रह्यो।’
मेसीले पछि बार्सिलोनामै रहने निर्णय लिएका थिए। अर्को सिजनमा उनी निःशुल्क अन्य क्लबमा जान सक्नेछन्। सुआरेजले यस विषयमा फेरि भने– ‘मेसीले अर्को क्लबमा खेल्ने सम्भावना छ। तर, यदि नउ क्याम्पमा अर्को बोर्ड आएमा वा त्यही रमाएमा बार्सिलोनालाई नै उनले निरन्तरता दिन पनि सक्नेछन्।’

प्रतिक्रिया दिनुहोस्