डलर साट्ने बहानामा एक करोड १५ लाख ठगी गर्ने गिरोहका नाइकेसहित १२ पक्राउ

लुटपाट गर्ने समुह दुई परिवारका सदस्य र एउटै नगरपालिकाका



पुष्कर बुढाथोकी,भक्तपुर ।

सस्तोमा डलर साट्ने बाहनामा बिभिन्न व्यक्तिहरुबाट रु. एक करोड १५ लाख १० हजारभन्दा बढी रकम ठगि गर्ने गिरोहका मुख्य नाइके सहित पक्राउ परेको १२ जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको छ । केही समयदेखि श्रृंखलाबद्धरुपमा डलर देखाइ लुटपाट गर्दै आएका समूह एउटै परिवारभित्रका सदस्य र प्रायः सबै एउटै स्थानका बस्ने रहेको खुल्न आएको छ। प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा डलर देखाई लुटपाट गर्ने समूह काठमाडौं उपत्यकामा विभिन्न पेशा व्यवसाय गरी बस्ने एउटै परिवारका सदस्य र एकै स्थानमा बसोबास गर्ने छिमेकीहरु भएको खुल्न आएको हो।

प्रहरीले फरक फरक दिनमा गिरोहमा संलग्न रहेकाहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ३ घरभई हाल काठमाडौंको गोकर्णेश्वर न.पा.–१ बस्ने दाजुभाई ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, एउटै परिवारका बाह्रबिसे–६ घरभई मध्यपुरथिमि न.पा.–९ बस्ने ५६ वर्षीय श्यामबहादुर तामाङ, रामकृष्ण तामाङ, कान्छी तामाङलाई पक्राउ गरेको छ ।

त्यसैगरी सिन्धुपाल्चोक बाह्रबिसे–३ का घरभई हाल मध्यपुरथिमि चारदोबाटो बस्दै आएका एकै परिवारका २३ वषीएय विमल भण्डारी, २१ वर्षीय निर्मल भण्डारी, बाह्रबिसे– २ का ३३ वर्षीय राजकुमार तामाङ, बा्रहबिसे–४ घरभई लोकन्थली बस्दै आएका ३१ वर्षीय धनबहादुर भण्डारी, बाह्रबिसे–२ घरभई सुडाल बस्ने २८ वर्षीय कमल भण्डारी, बाह्रबिसे–४ घरभई कालोपाटी बस्ने २७ वर्षीय राकेश भण्डारी, बाह्रबिसे–३ घरभई बालाजु बस्ने ३९ वर्षीय सञ्चबहादुर योञ्जनलाई पक्राउ गरी ठगि सम्बन्धी कसुरमा मुद्दा चलाएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार जग्गा व्यवसाय, ट्रक चालक, ट्याक्सी चालक र मजदुरका रुपमा कार्यरत एउटै परिवारभित्रका सदस्यहरुले व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई सस्तोमा डलर साट्ने बहानामा लोभमा पारी लुटपाट गर्दै आएको खुलेको छ ।अनुसन्धानको क्रममा यो समूहको विभिन्न १८ वटा लुटपाटका घटनामा संलग्नता देखिएको छ। घटनामा हालसम्म १ करोड १५ लाख भन्दा बढी रकम लुटिएको खुल्न आएको छ। पिडितहरु सम्पर्कमा आउने क्रम जारी रहेकाले पीडित र रकम बढ्न सक्ने प्रहरीको भनाई छ ।

प्रहरीले सार्वजनिक गरेका १२ जनामध्ये ५ जनालाई प्रहरीले मध्यपुर थिमि ९ बोडेबाट गत असोज ९ गते पक्राउ गरेको थियो।पक्राउ पर्नेमा गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक बाह्रबिसे–२ का कमल खड्कालाई प्रहरीले मोटरसाइकल सहित पक्राउ शुक्रबार पक्राउ गरेको हो । भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक थापाले ठगि गर्ने गिरोह सक्रिय भएपछि प्रहरीले विशेष अभियान सञ्चालन गरेर गिरोहलाई पक्राउ गरेको बताउनुभयो ।

यही असोज १८ गते मध्यपुरथिमिस्थित असोज २० मा दिब्यश्वरी टाउन प्लानिङमा सस्तोमा डलर साट्न आएका बालाजुस्थित बिजी मलमा ब्यापार गर्ने प्रकाश बुढाथोकीको बा.१५च ४०५ नम्बरको गाडीको सिसा फुटाएर रु.चार लाख लुटेर फरार खड्कालाई प्रहरीले सानोठिमीबाट पक्राउ गरेको हो ।प्रहरीले पक्राउ परेकाहरुको साथबाट रु. पाँच लाख ९४ हजार ४७५ नगद, १२ थान मोवाईल, पाँच थान मोटरसाइकल, ४६० अमेरिकी डलर र ५ बण्डल कागज बरामद गरेको छ ।

पक्राउ परेका मध्ये डलर सटहीमा ठगि गर्दै आएका खेलबहादुर तामाङ २०६४ सालमा चैतमा एकवर्ष कारागार बसेर रु. १२ लाख धरौटीमा छुटेको पुनः ठगि कै कामबाट आएको पैसाले काठमाडौं जर्सिङपौवामा श्रीमतिको नाममा ३६ आना जग्गा खरिद गरेको, रेल बहादुरले बाह्रबिसेमा कुखुरा फार्म सञ्चालन गर्नुको साथै होटलमा लगानी गरेको पाईएको छ ।

महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले अनुसन्धानमा क्रममा डलर साट्ने बाहनामा ठगि गर्न सक्रिय रहेकाहरुसबै बाह्रबिसे नगरपालिकाका भएका, कतिपय एकैघर परिवारका रहेको पाइएको जानकारी दिनुभयो । उहाँले लकडाउन सुरु भएपछि ठगि गर्ने गिरोह सक्रिय भएको बताउनुभयो । कागजको व्याण्डलमा तल र माथि डलर राखेर देखाउने र रुमालमा पोको पारेको कागजको बण्डल दिएर नेपाली पैसा लिई फरार हुने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्