पर्यटकीय सम्भावना बोकेको गन्यापधुरा क्षेत्रको विकासका लागि पहल शुरु



राम धामी,डडेल्धुरा ।

सुदूरपश्चिम प्रदेशमा कान्छो खप्तड भनेर चिनिने प्रचुर पर्यटकीय सम्भावना बोकेको डडेल्धुरा जिल्लाको गन्यापधुरा गाँउपालिका–४ स्थित गन्यापधुरा क्षेत्रमा पहिलो पटक सुदूरपश्चिम प्रदेश सरकारले जैविक विविधता तथा जलाधार संरक्षण कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गन्यापधुरा क्षेत्रको जैविक विविधता र जलाधार संरक्षणका लागि चालु आर्थिक बर्षमा पहिलो पकट १५ लाख बजेट बिनियोजन गरेको हो ।

प्रदेश सरकारकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले गन्यापधुरा प्रचुर पर्यटकीय सम्भावना बोकेको धार्मिक तथा मनमोहक पर्यटकीय क्षेत्र भएकाले चालु आर्थिक बर्षमा सो क्षेत्रको जैविक विविधताका साथै जलाधार संरक्षणकासाथै पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम शुरुवात गरिएको जानकारी दिइन् । डडेल्धुरा सदरमुकामस्थित भू–तथा जलाधार व्यवस्थापन कार्यालय मार्फत सो कार्यक्रम कार्यान्वयन हुने प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भट्टको निजी सचिवालयले जनाएको छ ।

जलाधार संरक्षणको अभावमा सो क्षेत्रमा भूक्षय र बाढीपहिरोको समस्या रहेकाले चालु आर्थिक बर्षदेखि जलधार संरक्षणका साथै जैविक विविधता संरक्षणका लागि डिभिजन वन कार्यालय डडेल्धुरासँग सहकार्य गरेर प्रभावकारी रुपमा कार्यक्रम कार्यान्वयन गरिने भू–तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराका प्रमुख पुष्पराज जोशीले जानकारी दिए ।

सो क्षेत्रमा जैविक विविधता र जलाधार संरक्षणका साथै पर्यटन प्रर्वद्धनका लागि चालु आर्थिक बर्षदेखि काम थालनी गरिने भू–तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराले जनाएको छ । डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल प्रमुख विष्णुप्रसाद आचार्यले गन्यापधुरा क्षेत्र प्रशिद्ध धार्मिक क्षेत्रका साथै प्रचुर सम्भावना भएको पर्यटकीय गन्तब्य रहेकाले सो क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि हाईकिङ, ट्रेकिङ, पर्यटकहरुका लागि आवास व्यवस्थापन लगायतका कार्यक्रमहरु अविलम्ब कार्यान्वयन गरिनु आवश्यक रहेको बताए ।

सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तब्य बन्नसक्ने सम्भावना बोकेको सो क्षेत्रमा बाटोमा साईनबोर्डहरु राख्ने, जीपीए लोकेसन बनाउने र प्रचार प्रसारमा चालु आर्थिक बर्षबाटै काम शुरु गरिने भू–तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराले जनाएको छ । गन्यापधुरा गाउँपालिकाले गत आर्थिक बर्षमा सो क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि स्थानीय स्तरबाट पहल गरेको र सो क्षेत्रलाई प्राथमिकतामा राखेर बर्षेनी सो क्षेत्रको समग्र विकासका लागि बजेट बिनियोजन गरिने गन्यापधुरा गाँउपालिकाका अध्यक्ष नबलबहादुर मल्लले जानकारी दिए ।

उनले गन्यापधुरा क्षेत्रका समग्र विकासका लागि पहल गरिने बताए ।समुद्री सतहदेखि दुई हजार छ सय ७६ मिटर उचाईमा रहेको गन्यापधुरा क्षेत्र महाभारत पर्वत श्रृंखलाको सबैभन्दा उचाईमा रहेको प्रशिद्ध धार्मिक क्षेत्र हो । प्राकृतिक सौन्दर्यले भरिपुर्ण सो क्षेत्र जैविक विविधताका हिसाबले पनि महत्वपुर्ण रहेको डिभिजनल वन अधिकृत आचार्यले बताए । उनले निकै उचाईमा रहेको सिमसार क्षेत्र र मनमोहक गन्याप तालको विकास गर्न सकिएमा जैविक विविधता संरक्षणमा टेवा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्