‘कमजोर स्वास्थ्य संरचनाका कारण कोरोनाबाट १० लाख मानिसको ज्यान गयो’



न्युयोर्क ।संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले कमजोर स्वास्थ्य संरचना र स्वास्थ्यमा नागरिकको पहुँचको कम भएका कारण कोभिड १९ बाट धेरै मानिसको ज्यान गएको बताउनुभएको छ ।

महासचिव गुटर्रेसले भन्नुभएको छ– कोभिड १९ को महाहामारी शुरु भएपछि यसबाट दश लाभन्दा बढी मानिसको ज्यान गएको छ र यतिधेरै नागरिकको ज्यान जानुमा ती देशको कमजोर अवस्था हो । संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेसले कतिपय नागरिकको स्वास्थ्यमा पहुँच नै नभएको त कतिपय देशमा नागरिकका लागि आवश्यक र पर्याप्त मात्रामा स्वास्थ्यका संरचना तथा सुविधा नै नभएको बताउनुभयो ।

उहाँले गत वर्ष आफूले नै विश्वमा स्वास्थ्य सुविधा सबै नागरिकको पहुँचमा नरहेको र महंगो बन्दै गएको स्वस्थ्य सुविधा लिन नागरिकहरुको सामथ्र्य नभएको बताएको स्मरण गर्नुभयो । यस्तो अवस्थामा अकस्मात कोभिड १९को महामारी बढ्दै गएपछि यस संरचनाबाट नै धेरै नागरिकले सुविधा पाउन नसकेका उहाँले बताउनुभयो ।

नागरिकको स्वास्थ्यमा पहुँच विषयक संयुक्त राष्ट्रसंघीय एक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । अहिलेको अवस्थामा नागरिकलाई स्वास्थ्य सुविधामा पहुँच बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।उहाँले विश्वमा दश लाखभन्दा बढी नागरिकको ज्यान गएको भन्दै अबका दिनमा सबै नागरिकलाई स्वास्थ्य सुविधाको उपलब्धताका लागि लाग्न विश्वका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभएको थियो ।

आफूले गत वर्षमात्र पनि विश्वको कम्तीमा पनि आधाजति जनसंख्या पर्याप्त स्वास्थ्य सुविधाबाट वञ्चित नै हुनुपर्ने अवस्था रहेको कुरा औंल्याएको तर त्यस समयमा कुनै पनि देशले आफ्नो कुरामा ध्यान नदिएको उहाँले बताउनुभयो । तर अहिले कोभिड १९ को महामारीले यो अवस्था स्पष्ट रुपमा देखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्