मानव कल्याण समाजको ‘सडक मानव मुक्त बनाउने अभियानमा धुलिखेल नगरपालिकाको पूर्णसाथ



मोतीराम तिमल्सिना, काभ्रे

काभ्रेपलाञ्चोक जिल्लालाई सडक मानव मुक्त बनाउन मानव कल्याण समाज (सेवा घर)लाई धुलिखेल नगरपालिकाले भवन तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने भएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले मानव भएर मानवकै हैसियतमा बाँच्न पाउने अधिकारलाई संरक्षण गर्न नगरपालिकाले सम्पूर्ण सहयोग उपलब्ध गराउने बताउनु भयो ।

भक्तपुरमा केन्द्रिय कार्यालय स्थापना गरी २०७५ बैशाख देखि सेवा शुरु गरेको उक्त संस्थाले काभ्रेपलाञ्चोक जिल्लामा भदौ १५ गते देखि सडक मानवको उद्धार गर्न शुरु गरे पनि शुक्रबार औपचारिक उद्घाटन गरेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिकालाई बालमैत्री, बालश्रममुक्त नगर घोषणाको तयारीमा जुटिरहँदा सडकमा हुने मानवहरुको उद्धार र ब्यवस्थापन सँगै पुर्नस्थापना गर्ने कार्यमा साझेदारी गर्ने मानव कल्याण समाजलाई धन्यवाद दिदै सरकारको काममा संस्थाले लिएको अगुवाईमा नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने बताउनु भयो ।

 

‘हामी सडक मानव मात्रै होईन, नगर भित्र अभिभावक विहिन बालबालिकाहरु भएको अवस्थामा अभिभावकत्व समेत प्रदान गर्दर्छाै’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘बालबालिकाहरुको ब्याचलर तहसम्मको अध्ययनलाई निशुल्क गर्दै उनिहरुको जीवन समृद्ध बनाउने अभियानमा छौं ।’ धुलिखेल नगरपालिकाले मेयर गरिवी निवारण कोष मार्फत दलित, युवा, महिला लगायतका परिषद्हरु गठन गरी सबै क्षेत्र र समुदाय तथा वर्गको विकासमा समानता प्रदान गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

संस्थाकी अध्यक्ष सुमित्रा चौलागाई (सुमि मानव) ले भुकम्प पछि राजधानीका सडकमा थुप्रिएका सयौ मानवहरुलाई तातो खाना खुवाउने अभियान शुरु गरी भक्तपुर जिल्लामा रहेका सडक मानवहरुको उद्धारमा खटिन प्रेरणा मिलेको बताउनु भयो । २ वर्षको अवधीमा भक्तपुरमा २ सय भन्दा धेरै सडक मानवहरुको उद्धार गर्दा काभ्रेपलाञ्चोक जिल्लाका २५ भन्दा धेरै छन् । संस्थाले हुनेबाट सहयोग लिएर नहुनेलाई उपयोग गराईरहेको छ । हाल संस्थाको उद्धारबाट परिवारमा पुर्नस्थापना हुन भक्तपुरमा ७० र काभ्रेपलाञ्चोक जिल्लामा १३ जना बाँकी छन् । जन्मेको २ दिनको बालक देखि जेष्ठ नागरिकहरु समेत सडकमा भेटिएर उद्धार गरेको अध्यक्ष चौलागाईले बताउनु भयो । ‘ब्यक्तिगत खर्चबाट शुरु गरिएको उद्धार कार्यको पहिलो पहिलो चरणमा मन्दिरमा चढाएको अक्षता र अविर किनेर उद्धार गरिएका ब्यक्तिहरुलाई खुवायौं’–अध्यक्ष चौलागाईले भन्नुभयो–‘उद्धारमा सरकार, विभिन्न संघ संस्था तथा ब्यक्तिहरुको उल्लासपूर्ण सहभागिताबाट पुर्नस्थापना, हेरचाह र उपचार सम्भव हुँदै गएको छ ।’

सडकमा भएका मानवहरु अधिकांश मनोरोगी छन् । उनिहरुको स्याहार सुसार गरी पहिलाकै अवस्थामा फर्काउन कठिन छ । तर पनि संस्थाले त्यस्ता ७५ जना ब्यक्तिहरुलाई निको बनाएर परिवारमा पुर्नस्थापना गरिसकेको अध्यक्ष चौलागाईले बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सरकारको दायित्वलाई झकझक्याउने र सहयोग पुर्‍याउने मानव कल्याण समाजलाई धन्यवाद दिदै सरकारको तर्फबाट हरेक समस्याको समाधान गर्न तत्पर रहेको बताउनु भयो ।

सडकलाई मानव मुक्त बनाउन र सडकमा पुगेका नागरिकहरुलाई परिवारमा पुर्नस्थापना गराउन सरकारी निकायहरुको तर्फबाट समन्वय र सहकार्य गर्ने प्रजिअ पोखरेलले बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले सडकमा मानव आउनै नदिन नागरिकहरुलाई सचेतना गराउनु पर्ने बताउनु भयो । कलाकार सरिता लामिछानेले एउटा घर संचालन गर्न कठिन हुने अवस्थामा सडकमा भएका मानवहरुको उद्धार गरी पहिलाकै अवस्थामा फर्काउन कठिन भएकाले मानव कल्याण समाजको सेवा भावनालाई सबै क्षेत्रबाट सहयोग पुर्‍याई मानव भएर बाँच्न पाउने अधिकारको संरक्षण गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रशिक्षक विके रमण भट्टराईले सकारात्मक सोचको विकास गरी नागरिकहरुलाई सम्मान गर्नु पर्ने बताउँदै परिवारले परिवारकै सदस्यलाई माया गर्नु पर्नेमा जोड दिनु भयो । वडा अध्यक्ष रविन्द्र कर्माचार्यले नागरिकहरुको अधिकारलाई नगरपालिकाले सम्मान गर्दै नगरपालिका, वडा कार्यालय र स्थानीयहरुको तर्फबाट सक्दो सहयोग पुर्‍याउने बताउनु भयो । कार्यक्रममा संस्थालाई विभिन्न ढंगबाट सहयोग पुर्‍याउने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्