विश्व च्याम्पियन पलिस्था सम्मानित



काठमाडौं, (नेस)
विश्व च्याम्पियन मुवाथाई खेलाडी पलिस्था कक्षपति बिहीबार नगदसहित सम्मानित भएकी छन्। पलिस्थालाई अस्ट्रेलियामा बस्दै आएका पूर्वखेलाडी एवं युवा व्यवसायी प्रफुल श्रेष्ठको प्रायोजनमा सम्मान गरिएको हो।
पलिस्थाले सन् २०१९ मा थाइल्यान्डको बैंककमा भएको १६औं मुवाथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। १३ वर्षीया पलिस्थाले ३० केजी तौल समूहमा स्वर्ण जितेकी हुन्। पलिस्थाले नेपालमै विभिन्न समयमा भएको तीन फरक संस्करणको इन्डो–नेपाल मुवाथाईमा तीन स्वर्ण जितेकी हुन्। सम्मानित पलिस्थाले भविष्यमा अझ राम्रो प्रदर्शन गर्न मनोबल उच्च बनाएको बताउँदै सम्मानले अन्य खेलाडीलाई पनि खेलकुदमा लाग्न प्रेरणा दिने बताइन्।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पलिस्थालाई एक कार्यक्रमका बीच सम्मान गरेका हुन्। सो अवसरमा नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतको उपस्थिति थियो। अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई निश्चित मापदण्ड बनाएर विवादरहित ढंगले पुरस्कृत गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल राष्ट्रिय मुवँथाई संघका अध्यक्ष कक्षपतिले पूर्वखेलाडी श्रेष्ठलाई खेलाडीको हौसला बढाउने कार्य गरेकोमा धन्यवाद दिँदै सानै सम्मानले पनि खेलाडीमा ऊर्जा सञ्चार गर्न महŒवपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्