अबैध हतियारमा स्याङ्जा प्रहरीको निगरानी



अमृत अर्याल,स्याङ्जा ।

अबैध रुपमा हातहतियार राख्ने विरुद्ध स्याङ्जा प्रहरीले स्ट्रिङ अपरेसन चलाएको छ । कोभिड १९ को मौकामा शान्तिसुरक्षा संक्रमण न्युनिकरण गर्न खटिरहेका बेला आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै प्रहरीले स्ट्रिङ अपरेशन चलाएको हो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अबैध हात हतियार राख्ने तर्फ निगरानी बढाएको छ ।

प्रहरीले चलाएको स्ट्रिङ अपरेसनमा अबैध हतियार राख्ने दुई जनालाई पक्राउ गरेको छ । भरुवा बन्दुक सहित प्रहरीले पुतलीबजार नगरपालिका ६ बस्ने ६६ बर्षका थमन गुरुङ् र २० बर्षका सुजन गुरुङ्लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

थमन गुरुङको साथबाट एक थान अबैध भरुवा बन्दुक, भरुवा बन्दुकको नाल एक थान, बारुद थान १४५ ग्राम, टिनको स-साना पाता ११ वटा, केप ५ थान, काँचो सिसा १५६ वटा नियन्त्रणमा लिईएको प्रवक्ता नायव उपरिक्षक अधिकारीले बताउनुभयो । त्यस्तै सुजन गुरुङको साथबाट एक नाले भरुवा बन्दुक नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जनालाई जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । चाडवाड नजिकिदै गर्दा शान्तिसुरक्षामा कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका जिल्ला प्रहरी प्रमुख होविन्द्र वोगटीले सुरक्षा गस्ति बढाएको बताउनुभयो । सुरक्षा गस्ति बढाए सगै प्रहरीले अबैध हतियार राख्ने व्याक्ति प्रकाउ परेका हुन् ।

अदालतले सजाय तोकेका फरार अभियुक्त धमाधम पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयले सामाजिक, आर्थिक, भौतिक, प्राकृतिक लगायतका बिषयमा खलल् पु¥याउने व्याक्तिलाई नछाड्ने अडानका साथ अगाडी बढेको देखिन्छ । प्रवक्ता अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट अनुमति नलिएका र नविकरण नगरी अबैध रुपमा राखिएका आर्थिक बर्ष २०७७/०७८ को साउन देखि असोज सम्म ८ नाल भरुवा बन्दुक र ६ जनालाई पक्राउ गरिएको छ ।

अबैध रुपमा अझै धेरै संख्यामा हतियार रहेको प्रहरीले आशंका गरेको छ । तिब्र रुपमा गस्ति बढाएको प्रहरीले अबैध धन्दामा जोसुकै परेपनि नछाड्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्