जिल्लामै सरकारी स्तरबाट कोरोना परीक्षण सुरु भएपछि काठमाडौँ धाउनुपर्ने बाध्ध्यता हट्यो



कविराज नेपाल, पाल्पा ।

अव पाल्पाका कोरोना आशंकितहरुले कोरोना पुष्टि गर्नका लागि छिमेकी जिल्ला रुपन्देही वा संघीय राजधानी काठमाण्डौँ अथवा अरु स्थानमा जानु नपर्ने भएको छ । सरकारी स्तरबाटै पाल्पामा पनि कोरोना (कोभिड–१९) भाइरसको परीक्षण सुरु भए पछि यो वाध्यता हटेको हो । विहिबारबाट पाल्पाको तानसेनमै परीक्षण सुरु भएको छ । अब कुनै पनि व्यक्तिमा कोरोना संक्रमण भए नभएको परीक्षण तानसेन यहाको पाल्पा अस्पताल अन्र्तगत रहेको कोरोना परिक्षण प्रयोगशाला मार्फत तानसेन नगरपालिकाको काजीपौवाबाट हुनेछ ।

सरकारले गत असार महिनामा पाल्पा अस्पताललाई कोरोना परीक्षणका लागि आवश्यक पीसीआर मेसिन खरीदका लागि स्विकृति प्रदान गरेको थियो भने पछि यसका लागि एक करोड रुपैया विनियोजना गरेको थियो । परिक्षण केन्द्रमा परिक्षण मेशीन र आवश्यक किट र सामग्री उपलब्ध भएर पूर्वाधार विकास लगायतका काम पुरा भएपश्चात परिक्षण सुरु गरिएको र विहिबारदेखि सर्वसाधारणको नमूना परीक्षण गरिएको अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले जानकारी दिनु भयो ।

अध्यक्ष पाण्डका अनुसार बुधबार केही स्वाब परीक्षण गरिए पनि विहिबारदेखि विधिवत् रुपमा कोरोना परीक्षण कार्य थालिएको हो । ‘अब परीक्षणका लागि नमूना भैरहवा, काठमाडौं पठाउनुपर्ने बाध्यता नरहने र पाल्पाका सबै नमूना तानसेनमै परीक्षण हुने छन् ’ उहाले भन्नुभयो –‘पाल्पामै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको र परीक्षणको रिपोर्ट पनि ४/५ घण्टामा बिरामीले पाउने छन’–उहाले भन्नुभयो । केन्द्रमा परिक्षण गर्न आउँदा स्थानीय तह र स्वास्थ्य संस्थासँगै स्वास्थ्य कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । केन्द्रका इन्चार्ज खिलध्वज कार्कीले ‘मंगलबार र बुधबार लगाएर मेसिन जडान भयो, बिहीबारबाट नमूना परीक्षणको काम थालेका छौं’।

भन्नुभयो । मेसिनको प्रतिघण्टा ९६ जनाको स्वाब परीक्षणको क्षमता रहे पनि केही प्राविधिक कारणले गर्दा अहिलेलाई ९० जनाको मात्र परीक्षण गर्न सकिने र तत्कालका लागि एक सिफ्टमा ४४ जनाको मात्र स्वाब परीक्षण गरिनेछ । प्रयोगशालामा दैनिक तीन सिफ्टमा १ सय ३२ जनाको स्वाब परीक्षण गरिने बताइएको छ । कोरोना परीक्षणका लागि दैनिक विहान ८ बजेदेखि दिउसो २ बजेसम्म नाम दर्ता र स्वाब परीक्षण दैनिक १२ बजेदेखि दिउसो २ बजेसम्म हुनेछ भने परीक्षण शुल्क २ हजार लाग्ने र स्वास्थ्य कार्यालयबाट सिफारिस भइ आउनेको निशुल्क परिक्षण गरिने वताइएको छ ।

यस अघि जिल्लाबाट कोरोना शंकास्पद बिरामीको नमूना परीक्षणका लागि स्वाव संकलन गरी प्रादेशिक प्रयोगशाला रुपन्देही र काठमाडौंको पठाउने गरिएको थियो । परीक्षण सुरु भएसँगै अब जिल्लाहरुबाट नमूना संकलन गर्दै परीक्षणलाई तीव्रता दिइने पाल्पा अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्