विश्व दृष्टि दिवस २०२० को मूल नारा ‘दृष्टि प्रतिको आश’



न्युज अफ नेपाल, काठमाडौ ।

कोरोना संक्रमणका कारण बाहिर भिडभाड नगरेपनि भर्चुअल माध्यम, इमेल, इन्टनेट, भिडियो, लेख रचनालाई आम जनमानसमा चेतनाका माध्यमबाट फैलाउँदै यस बर्षको विश्व दृष्टि दिवस दृष्टि प्रतिको आश भन्ने नाराकासाथ नेपालमा पनि मनाईयो ।

यही अक्टोवर ८ तारिखका दिन उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाइदै आएको छ ।

विश्व दृष्टि दिवसको अवसर पारेर तिलगंगा आँखा प्रतिष्ठानले धादिङ्ग, नुवाकोट, रसुवा, ओखलढुंगा, सिन्धुपाल्चोक, रोल्पा, रामेछाप र दोलखा जिल्लाका ३ सय जना मोतिविन्दुका बिरामीको काठमाडौं स्थित तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने काम भईरहेको छ ।

माथि तोकिएका जिल्लाको उपत्यका वा आसपासका क्षेत्रमा बसोबास गरेका बिरामीले पनि यो सेवा लिन पाउँनेछन् । जसका लागि माथि उल्लेखित गरेको जिल्लामा अवस्थित जिल्ला सामुदायिक आँखा केन्द्रको सिफारिस वा जिल्ला खुल्ने परिचयपत्र र पिसीआर परिक्षणको रिपोर्ट हुनुपर्नेछ । यो सेवा मङ्गसिर महिनासम्म लागु हुने तिलगंगाले जनाएको छ ।

तिलगंगालाई निः शुल्क शल्यक्रियाको लागि अन्तराष्ट्रिय सहयोगी संस्था द फ्रेड हलोज फाउण्डेसन र हिमालयन क्याटर्याक्ट प्रोजेक्टले सहयोग गरिरहेको जनाएकोछ ।

कोभिड १९ को महामारीको रोकथाम तथा नियन्त्रणका लागि आँखा शिविरहरु भन्दा यसपटक प्रतिष्ठानले आफ्ना शाखाहरु हेटौडा सामूदायिक आँखा अस्पताल लगायत १७ जिल्लामा रहेका सामुदायिक आँखा केन्दमा, अस्पताल तथा आँखा केन्द्र केन्द्रित कार्यक्रम मात्र संचालन गर्ने भएको छ । कोभिड १९ र आँखा स्वास्थ्य सम्बन्धी जनचेतनमूलक सुचना सामाग्री निमार्ण गरि रेडियो तथा विद्युतिय सामाजिक संजाल मार्फत प्रसारण गर्दै आएको छ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । यस लक्ष्यलाई पूरा गर्न तिलगंगा आँखा प्रतिष्ठान लगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायहरु सहकार्य गरि सेवा प्रदान गर्दै आइरहेको तिलगंगाले जनाएको छ ।

दुबै अन्तर्राष्ट्रिय संस्थाले संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न सन् १९९९ फेब्रुअरीमा भिजन २०२० राईट टु साईट कार्यक्रमको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा,समतामूलक वितरण, एकिकृत स्वास्थ्य सेवा र दिगोपना चार मूल्य र मान्यतालाई जोड दिदै हरेक वर्ष अक्टोबर महिनाको दोस्रो विहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउदै आइरहेको छ ।

नेपाल सरकारले पनि आफू उक्त संगठनको एक सदस्य राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा विश्वव्यापी कार्यक्रम मनाउनघोषणा गरी स्वास्थ्य मन्त्रालय अन्तर्गत एपेक्स बडी फर आई हेल्थको आँखा स्वास्थ्यको २० वर्षे कार्ययोजना (२००१–२०१९) बाट अन्धोपन निवारणमा जनशक्तिको विकास, आँखा सेवाको लागि अस्पताल, सामुदायिक आँखा केन्द्रको स्थापन, सामुदायिक कार्यक्रमको विस्तार, प्रविधिको विकास र अनुसन्धान कार्यहरु सम्पन्न भैसकेको छ ।

विगत ४ दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवामा गैरसरकारी संस्थाहरुको सहभागिताले यस क्षेत्रको प्रगति तुलनात्मक रुपमा अग्रिम पंक्तिमा छ । यद्यपि प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन स्वास्थ्य निति २०७६ मा आँखा स्वास्थ्य क्षेत्रमा सरकारी तथा गैर सरकारी क्षेत्र बिचको सहकार्य गर्ने, आँखाको प्राथमिक उपचार सेवालाई आधारभूत स्वास्थ्य सेवामा एकिकृत गर्ने र सार्वजनिक निजी साझेदारी आँखा स्वास्थ्य सेवालाई विकास तथा विस्तार गर्दै केन्द्रीय निकायबाट समन्वय, सहकार्य तथा नियमन गर्नको लागि स्वास्थ्य मन्त्रालयमा आँखा स्वास्थ्यको लागि सर्वोच्च इकाई एपेक्स बडी फर आँखा स्वास्थ्यबाट स्वास्थ्य निति अन्तर्गत आँखा स्वास्थ्यको रणनिति बनाउने कार्य भईरहेको छ ।

यस दिवसमा विश्वभरिका विभिन्न संघ–संस्था, सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न विश्व स्वास्थ्य संगठनले एकिकृत जनता केन्द्रित आँखा सेवालाई सम्बोधन गर्नको लागि प्रोत्साहित गर्दछ ।
आँखा स्वास्थ्य सम्वन्धि केही तथ्य

नेपालमा
* अनुमानित १ लाख ५ हजार मानिस दृष्टिीविहिन छन् ।
* १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषको समस्या रहेको छ । जस मध्ये लगभग ६ सय ५ न्यून दृष्टी महिलामा रहेको छ ।
* ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन् ।
अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् ।
* अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार र १६% अन्धोपन रोकथाम गर्न सकिने खालका छन् ।
*  पछिल्लो २० वर्षमा संक्रमण जस्तै ट्रकोमाका कारणले हुने न्यून दृष्टि समस्या नियन्त्रण भएको छ ।
* अनुमानित ३० प्रतिशत मानिसलाई आँखाको समस्या देखिने हुँदा नियमित आँखा जाँच गराउनुपर्ने देखिन्छ ।
*  सन् २०१४ मा नेपालको केहि भागमा गरिएको सर्भे अनुसार बालबालिकाको आँखाको रोग सम्बन्धि अध्ययन मा सुन्य दशमल्भ सुन्य ६ प्रतिशत बालबालिकामा बाल अन्धोपन देखिन्छ । त्यसमध्ये ८० प्रतिशत बालबालिकाहरुको उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ ।

अन्धोपनाका मूख्य कारणहरु :

* मोतिविन्दु र यस सम्बन्धित – ६५ प्रतिशत, आँखाको पर्दा जन्य रोगहरु– १३ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपना– ६ प्रतिशत, जलविन्दु– ५ प्रतिशत, दष्टिदोष– ४ प्रतिशत र अन्य–७ प्रतिशत रहेको छ ।
विश्वमा
* ३ करोड ६० लाख मानिस दृष्टिीविहिन छन् । २ दशमल्भ ६ अरब मानिसमा मायोपियाछ जसमध्ये १९ वर्षमुनिका ३१ करोड बालबालिका रहेका छन् ।
* हाल २ दशमल्भ २ अरब मानिस दृष्टि कमजोर भएका छन् जसमध्ये टाढाको दृष्टि अति कमजोर भएका १ अरब मानिसकोे समयमै रोकथाम गर्न सकिने अवस्थालाई सम्बोधन गरिएको छैन ।
* २१ करोड ७० लाख मानिस मध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतिविन्दुको समस्या रहेको छ । जसमध्ये ७५ प्रतिशत समस्याको समाधान गर्न सकिन्छ ।
* २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यूनदृष्टिबाट प्रभावित छन् ।
* १ अरव मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् ।
* अनुमानित १ करोड ९० लाख बाल बालिकाहरुमा दृष्टि दोष ९ख्ष्कगब िक्ष्mउबष्चmभलत० देखिएको छ । १४ लाख बालबालिका दृष्टिविहिन रहेका छन् ।
* कूल दृष्टि दोष मध्ये झण्डै ६५ प्रतिशत मानिसहरु ५० वर्ष र माथिका उमेरका छन् ।
* अन्धोपना र दृष्टिदोषको भार १९९० को ४ दशमल्भ ५८ प्रतिशतबाट घटी २०१५ मा ३ दशमल्भ ३७ प्रतिशतमा झरेको छ ।

करोडौं मानिस आँखाको ज्योति गुम्ने खतरामा बाँचिरहेका छन :

२० करोड मानिस आयुसँग सम्बन्धित म्याकुलर डिजेरेसनका साथ बाँचिरहेका छन् ।
१४ करोड ६० लाख मानिस डाइबेटिक रेटिनोपेथीका साथ बाँचिरहेका छन् ।
२७ करोड मानिस उच्च मायोपियाको साथ बाँचिरहेका छन् ।

 दृष्टिदोषको वितरणमा धेरै असमानताहरु अवस्थित छन :
* दृष्टिदोषको समस्या मध्यम आय भएका देशमा उच्च आय भएका देशमा भन्दा ४ गुणा बढी हुने अनुमान गरिएको छ ।
*आँखा सेवाको पहुँच ग्रामिण क्षेत्र, पाको उमेरका व्यक्ति, महिला, अशक्त र जातिय अल्पसंख्यकमा कम रहेको छ ।

(स्रोत :अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सी)

आँखा स्वास्थ्य सन्देश
* कोरोना भाइरसबाट सर्ने कोभिड १९को यस विषम परिस्थितिमा हात नधोइकन आँखा छुनुहुदैन । आँखा छुनु पर्ने भएमा साबुन पानीले हात धोए पछि मात्र आँखा छुने बानी बसाल्नुपर्दछ । चस्मा वा फेसशिल्डको नियमित प्रयोगले आँखाबाट कोरोना भाईरस सर्ने सम्भावना कम गर्दछ । साबुनपानीले हात धोएर वा सेनिटाइजरको प्रयोग गरी, सामाजिक दुरी कायम गर्दै, मास्क र चश्माको उचित प्रयोग गरेर सुरक्षित मापदण्ड अपनाउदै आँखा केन्द्र तथा अस्पातलले सेवा प्रदान गरिरहेको छ । दृष्टिको सुरक्षा गर्न नियमित आँखा जाँच आत्यन्तै महत्वपूर्ण छ तसर्थ सुरक्षित मापदण्ड अपनाउदै नियमित आँखा जाँचका लागी नजिकैको आँखा केन्द्र वा अस्पताल जाआंै ।

*  आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टिदोषका लक्षणहरु हुन् । यो समस्या जो कोही र जुनै उमेरमा पनि हुन सक्छ । आँखा धमिलो हुनासाथ सबैले नजिकको आँखा केन्द्रमा गई जचाँइहाल्नुपर्दछ ।

* दृष्टिदोष रहेका बालबालिकाको गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आजै आँखा जाँच गरी उनिहरुको भविष्य उज्वल पारौं । विद्यालय भर्ना गर्नुअघि आफ्ना वालवालिकाको आँखा जाँच गराआंै ।

* दृष्टिदोष हुनेले चश्मा प्रयोग गरौ । दृष्टि दोष समस्याबाट बचौं र बचाऔं ।

* नेपालमा दृष्टि क्षमता कमजोर भएका मानिस मध्ये ६० प्रतिशत महिला छन् । महिलाको आँखा सेवामा एकदमै कम पहुँच हुनुको कारण यातायातको असुविधा र उपचार खर्चको अभाव हो । साथै अन्य कारणहरुमा जनचेतनाको अभाव, घरायसी कामकाज तथा पारिवारिक व्यस्तता, निर्णय प्रक्रियामा सहभागिताको कमी,आँखा केन्द्र वा आँखा अस्पताल जान अरुको सहयोग लिनुपर्ने बाध्यता आदि हुन् । तसर्थ महिलामा हुने आँखा समस्याको प्राथमिकताका साथ उपचार गरौं ।

* हरेक ५ जना अन्धोपन भएका मानिस मध्ये ४ जनाको उपचार र रोकथाम सम्भव छ । तसर्थ आजै नजिकको आँखा केन्द्र वा आँखा अस्पतालमा गई आँखाको जाँच गरि अन्धोपना हुनवाट बचौं र बचाऔं ।

* मधुमेह तथा उच्च रक्तचाप भएका सबैले आँखा जाँच गराऔं ।

* बालबच्चा र ४० वर्ष उमेर पुगेका सबैले आफ्नो आँखा नियमित (वर्षको कम्तिमा १ पटक) जाँच गराऔं ।

* आँखा स्वास्थ्य सबैको प्राथमिकता स्थानिय श्रोत परिचालन आजको आवश्यकता ।

* आँखा स्वास्थ्य सेवा हरेक तहका स्वास्थ्य प्रणालीमा एकिकृत गरौ ।

* अतिविपन्नका लागि आँखा स्वास्थ्य सेवा निशुल्क गरौ ।
विश्वका सवैजसो मुलुकमा पाको उमेरको जनसंख्या वढ्दै गईरहेको पृष्ठभुमिमा ठुलो जनसंख्या उमेरका कारणले निम्त्याउने अन्धोपनाको जोखिममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्