रुसद्वारा हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण



मस्को (एजेन्सी)
रुसले आफनो सबैभन्दा घातक हाइपरसोनिक क्रुज क्षेप्यास्त्र जिरकानको सफल परीक्षण गरेको छ । क्षेप्यास्त्रको परीक्षण बेरन्ट सागरमा गरिएको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
यो क्षेप्यास्त्रले ध्वनीको तुलनामा ८ गुणा बढी बेगमा ४ सय ५० किलोमिटर दुरी तय गरेको र आफ्नो नक्कली लक्ष्यलाई ध्वस्त पारेको बताइएको छ । रुसको यो परीक्षण अमेरिकाको नेतृत्वमा रहेको नेटो देशहरुसँग तनाव बढिरहेको बेला भएको हो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जिरकान क्षेप्यास्त्रको सफल परीक्षणको प्रशंसा गरेका छन् । रुसका लागि यो एक महत्वपुर्ण घटना भएको र यसले देशको सुरक्षा बढाउने उनले बताए । राष्ट्रपति पुटिनले यस परियोजनामा सलंग्न सबैको प्रशंसा गरे । भविष्यमा पनि रुसी विशेषज्ञ सेनालाई पुन शक्तीशाली बनाउन काम गरिरहने उनले आशा ब्यक्त गरे ।
उक्त हाइपरसोनिक क्षेप्यास्त्रको विस्तार ४ सय ५० किलोमिटर रहेको रक्षा मन्त्रालयले जनाएको छ । क्षेप्यास्त्रले २८ किलोमिटर उचाइमा उडान भर्दै साढे ४ मिनेट मै ४ सय ५० किलोमिटर दुरी तय गर्दै आफनो लक्ष्यलाई ध्वस्त पारेको थियो । यस क्रममा क्षेप्यास्त्रले ८ म्याकको बेग लिएको थियो । हाइपरसोनिक क्षेप्यास्त्र विश्वमा सबैभन्दा अगाडी रुस रहेको छ । रुसले आफनो ३एम२२ जिरकोन क्षेप्यास्त्र तैनाथ गर्न सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्