२४० जना अपांगता भएको व्यक्तिलाई ह्वील चियर वितरण



काठमाडौं, (नेस)
सरकारले अपांगता भएका व्यक्तिलाई ह्वील चियर वितरण गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सहायक सामग्रीको सहज पहुँचमा पुग्न नसकेका २ सय ४० जना अपांगता भएका व्यक्तिलाई आधुनिक मोडलको ह्वील चियर वितरण गर्नुभएको हो ।
बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच वितरण गरिएको सो ह्वील चियरको बजार मूल्य १५ हजारदेखि २ लाख ५० हजारसम्मका रहेका छन् । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोना भाइरसका कारण झनै समस्यामा परिरहेका अपांगता भएका व्यक्तिहरुको जिम्मा राज्यले लिने बताउनुभयो ।
उहाँले भौतिक पूर्वाधारसहितको अपांगतामैत्री वातावरण निर्माणमा ध्यान दिन पनि सबैलाई आह्वान गर्नुभयो । ‘अपांगतामैत्री वातावरण निर्माणमा लाग्न म सबैलाई आह्वान गर्दछु’, मन्त्री गुरुङले भन्नुभयो– ‘कोराना भाइरसका कारण झनै संकटमा परेका अपांगता भएका व्यक्तिहरुको जिम्मा राज्यले लिन्छ ।’
‘अम होङ गिल ह्युमन फाउन्डेसन’को सहयोगमा उपलब्ध गराएको सो ह्वील चियर काठमाडौं उपत्यकाबाहिरका जिल्लामा पनि आवश्यकतानुसार वितरण गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय अपांग कोषका सभापति रमेश लामाले जानकारी दिनुभयो ।
त्यस अवसरमा मन्त्री गुरुङले अपांगता भएका व्यक्तिहरुलाई ह्वील चियर उपलब्ध गराएको सो फाउन्डेसनप्रति आभार पनि व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा समाज कल्याण परिषद्का सदस्यसचिव पुस्कर खाती, राष्ट्रिय अपांग महासंघ–नेपालका अध्यक्ष मित्रलाल शर्मा तथा अपांगताका क्षेत्रमा कार्यरत संघ, संस्थाहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्