नेपाली नोटबारे नयाँ पुस्तक प्रकाशित



कठमाडौं, (नेस)
नेपालमा हालसम्म जारी भएका सबै नोटहरुको विस्तृत विवरण समेटिएको नयाँ सचित्र पुस्तक प्रकाशित भएको छ ।
नेपाल मुद्रा संकलक संघका अध्यक्ष शंकर श्रेष्ठद्वारा लिखित ‘पेपर मनी अफ नेपाल’ पुस्तक हिजो लेखककै निवासमा धार्मिक पूजा आयोजना गरी लोकार्पण गरियो ।
त्यस अवसरमा लेखक श्रेष्ठले नेपाली नोटहरुका बारेमा जानकारी लिन चाहने जोसुकैका लागि पनि पुस्तक उपयोगी र सहज हुने बताउनुभयो ।
श्री ५ त्रिभुवनको शासनकाल विसं २००२ मा नेपालमा पहिलो पटक कागजी नोट प्रचलनमा आएको हो । त्यसबेलादेखि अहिलेसम्म जारी भएका सबै किसिमका नोटहरुको प्राविधिक र अन्य पक्षको समेत विस्तृत जानकारी समेटिएको यस पुस्तकको महŒवबारे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा डेपुटी गभर्नर शिवराज श्रेष्ठले पुस्तकमा प्रस्तुत शुभकामना मन्तव्यमा उल्लेख गर्नुभएको छ ।
नेपालमा हालसम्म १ देखि १००० अंकित मूल्य रहेका विभिन्न ११ किसिमका नोटहरु जारी भएका छन् । समयअनुसार प्रत्येक नोटको डिजाइन, मुद्रण आदिमा विविधता पाइन्छ । विभिन्न आधारमा १५६ थरीका विविधता यी नोटहरुमा रहेका छन् ।
नोटमा अन्तरनिहीत यी सबै विविधताको सूक्ष्म विश्लेषणका साथै विसं २०१३ देखि २०७६ सालसम्म नेपालमा जारी भएका संस्मरणात्मक सिक्काको सूची पनि पुस्तकमा दिइएको छ ।
विश्वमै मुद्रा संकलक र अन्वेषकहरुको संख्या बढ्दै गइरहेको र कहिल्यै पनि उपनिवेश नबनी सधैं स्वतन्त्र राष्ट्र रहेको कारण नेपालको मुद्रा प्रति विदेशीहरुमा समेत अभिरुचि बढिरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्