कविता : जीवनको मूल्य



तारा भट्टराई ।

आत्महत्यालाई त्याग पवित्र जीवनलाई रोज
बाहिरी सौन्दर्यलाई छोड भित्री मनमन्दिरमा आफूलाई खोज
आसुको थोपालाई होइन रगतको महत्वलाई बुझ
सन्सारलाई बदल्ने हो भने गतिशील जीवनलाई रोज ।

पापी भावनालाई त्याग्न पवित्र आत्मालाई सोध
अन्धकारमय वातावरणबाट मुक्त हुन शिक्षाको दियो बाल
समाजलाई आदर्श बनाउने हो भने मानसिक दुष्टतालाई त्याग
मायाको जालमा नफस्ने हो भने जीवनको यथार्थलाई बुझ ।

अमूल्य जीवनलाई बुझी क्षणभरमा समाप्त पार्ने विचारलाई छोड
एकबार पाएको मानव जीवनको सामाजिक महत्वलाई बुझ
अकाल मृत्युलाई रोज्दैमा संसारबाट मुक्त भएको नठान
हरेक क्षण आफन्तलाई रुवाउने बाटो त्याग, अमूल्य जीवनको भर गर ।

आमाबुबाको रगतले बनेको सकल शरीरलाई बलियो पार
आमाबुबाकै नाम जपी हरेक क्षण सुन्दर भविष्य निर्माण गर
हाड मासुले बनेको शरीरलाई भित्रैदेखि बुझ्ने प्रयत्न गर
हरेक समय जीवनमा आइपर्ने चुनौतीको डटेर सामना गर ।

नकारातमक सोचलाई सिर्जनामा बदलेर परास्त गर
सकारात्मक सोचलाई समाजको कल्याणका लागि सदुपयोग गर
बाँच,अझै बाँच देशको माटो छोएर सदैब बाँच्ने अठोट गर
आत्महत्या जस्तो पापकर्म गर्ने सोचलाई सदाका लागि अन्त्य गर ।

प्रतिक्रिया दिनुहोस्