अनसनको २४औं दिन: चिकित्सक संघले गर्‍यो आन्दोलनको घोषणा, मन्त्रालयद्वारा वार्ता टोली गठन



न्युज अफ नेपाल, काठमाडौं ।

विगत २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जिवनरक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ।

आज एक विज्ञप्ति जारी गर्दै संघले केसीको मागलाई सरकारले वेवास्ता गरेको जनाएको छ । यस्तै, अनसनको २४ औँ दिन पुगिसक्दा समेत डा.केसीको जीवन रक्षाका लागि सरकारले कुनै कदम नचाल्दा आन्दोलन गर्न बाध्य भएको संघ जनाएको छ । डा. केसीको जिवन रक्षाको माग गर्दै हाल देशभर विरोध जनाइएको छ ।

संघका अनुसार असोज २२ गते बिहान ९ बजेदेखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी धर्ना दिने कार्यक्रम रहेको छ। यस्तै, बिहीबारदेखि नै देशभरका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य मापदण्ड अपनाइ रिले अनसन बस्ने स‌ंघका महासचिव डा‍.बद्री रिजालले जनाएका छन्।

यस्तै, आज डा. केसीको अनसनको सन्दर्भमा छलफल गर्न शिक्षा मन्त्रालयले तीन सदस्य वार्ता टोली गठन गरेको छ । मन्त्रालयले शिक्षा सचिव गोपीनाथ मैनालीको समायोजनमा गुणराज लोहनी, स्वास्थ्य मन्त्रालयका सहसचिव र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्माको तीन सदस्य वार्ता टोली गठन गरेको हो ।

अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि देशभर विरोध कार्यक्रम घोषणा गरेसँगै मन्त्रालयले तीन सदस्य वार्ता टोली गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्