व्यवसायिक बाख्रापालनमा वडाध्यक्ष



रामधन राई, खोटाङ ।

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडाध्यक्ष विरेन्द्र ढकालको पहिलो प्रथमिकतामा जनताको सेवा नै पर्दछ । दिनभरी जनताको सेवामा खटिने ५० वर्षिय वडाध्यक्ष ढकालले वचेको सवैजसो समय वाख्राको स्याहारसुसारमा खर्च गर्नुहुन्छ ।

परम्परागत शैलिवाट पहिलेदेखि नै वाख्रा पाल्दै आउनुभएको ढकाल २०७१÷७२ सालदेखि कालिका बाख्रा फार्म दर्ता गरेर व्यवसायिक रुपमा वाख्रापालनमा लाग्नुभयो । विरेन्द्र ढकालले २०७४ को निर्वाचनवाट वडाध्यक्षमा चुनिएपछि पनि व्यवसाय छाड्नुभएन ।

‘विहान र वेलुका चाँही म फर्ममा तल्लिन हुन्छु ।’ वडाध्यक्ष ढकाल भन्नुहुन्छ–‘९ वजेदेखि आफ्ना कार्यालयमा जान्छु अनि वेलुकी फर्किएर वाख्राकै स्याहार सुसारमा ।’ कृषि व्यवसायवाटै आर्थिक लाभ लिन तम्सिनुभएका वडाध्यक्ष ढकालले वाख्रापालनवाट मात्रै वार्षिक ५ लाख रुपैंयाँ वढी आम्दानी गर्दैआउनुभएको छ । हाल प्रयोगमा आईरहेका खोरहरुलाई नै परिमार्जित गर्दै आधुनिक वनाउने उहाँको योजना छ ।
‘वोयर लगायत उन्नत जातको करिब एक हजार वढी बाख्रा पाल्ने योजना छ !’ ढकाल थप्नुहुन्छ–‘वजारको पनि वढ्दो माग छ ।’

विजयखर्क वाख्रापालनको लागि उपयुक्त जंगल तथा चरणक्षेत्र भएको कारण पनि सफलता हात लाग्दै आएको उहाँ सुनाउनुहुन्छ । ‘कैलेकाहीँ त जंगलतिरैवाट वच्चा हुर्काएर ल्याउँछन् ।’ खुशी मुद्रामा सुनाउँनुहुन्छ–‘जंगल पठाएपछि आफै घर फर्किएर आउँछन्, कति उतै रहन्छन् र वच्चा सहित दुई–तीन दिनमा आईपुग्छन् ।’

विरेन्द्रको करिव ५ रोपनी जग्गामा बाख्राको लागि चाहिने उपयुक्त डालेघाँस समेत लगाईएको छ ।  वाख्रा पाल्नु मात्र नभई त्यसवारे ज्ञान लिनु र स्याहार सम्भारमा ध्यान दिन जरुरी हुने उहाँको सुझाव छ । वाख्रावाटै आत्मनिर्भर वन्ने उहाँको संकल्प हो ।

ढकालले वाख्रापालनसँगै तरकारी तथा फलफुल खेतिलाई समेत व्यवसायिक वनाईरहनुभएको छ । ढकालको काममा उहाँकी श्रीमति र दुई छोराले सघाउने गर्नुभएको छ ।

रहर लाग्दा वाख्राका वथानहरुसँगै घर वरीपरि केराघारीमा पसाईरहेका केराका घरी, लटरम्म फलिरहेका रुख कटहर, भुईँकटहर, सुन्तला जस्ता वगानहरुले ढकाल परिवारको खुशी फुलाईरहेका छन् ।  ’हामी सवै परिवार यीनै सेरोफेरोमा समय कटाउँछौं, समय कटाएको पत्तै पो हुँदैन ।’ १५ नम्वर वडाका अध्यक्ष विरेन्द्र ढकाल मुसुक्क हाँस्नुभयो ।

प्रतिक्रिया दिनुहोस्