‘शहिद धर्मभक्त प्रत्यारोपण केन्दको सफताले निरन्तरता पाओस’



न्युज अफ नेपाल, काठमाडौ ।

नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले देशव्यापी रुपमा स्वास्थ्य सेवाको अवस्थाका बारेमा बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७५/२०७६ को प्रतिबेदमा नेपालबाट ठूलो धनराशी भारत जाने बिरामी मध्ये मृगौला प्रत्यारोपण पनि भएकोमा नेपालमै मृगौला प्रत्यारोपणको थालनी पछि सर्वसाधारण जनतालाई निकै ठूलो सहयोग पुगेको देखिन्छ ।

राज्यले जसरी मृगौलाका बिरामीलाई निःशुल्क सेवा सुविधा दिएको त्यसको परिणाम स्वरुप प्रतिफल पनि राम्रै आएको देखिन्छ । आखिर जनस्वास्थ्यका बिषयमा राज्यले ठोस नीति अवलम्बन गरि दक्ष जनशक्तिको कदर गर्नेहो भने नेपालमा स्वास्थ्य जनशक्ति निकै अनुभवी, जिम्मेवार र मेहनती छन भन्ने कुरा बार्षिक प्रतिवेदनको महत्वपूर्ण अंश मृगौला प्रत्यारोपणलाई नियाल्दा प्रष्ट हुन्छ ।

कति मृगौलाका बिरामीले दाता, पैसा नभएर अकालमा ज्यान गुमाएको अवस्थामा नेपाल सरकारले सन् २००४ मा वीर अस्पतालबाट मृगौला प्रत्यारोपण शुरु गर्ने जमर्को गरेको थियो । तर त्यतिबेला अहिले जस्तो दक्ष जनशक्ति, उपकरण, कानूनी सहजता नभएकै कारण सोचेजस्तो परिणाम आउन सकेन । तर नेपाल सरकार र स्वास्थ्य संस्थाहरुको अथक प्रयासमा नेपाली चिकित्सकहरुनै मृगौला प्रत्यारोपणका क्षेत्रमा दक्ष सावित भए ।

सन् २००८ मा त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणले सफलता पाएसँगै बेलायतको सुविधालाई भन्दा गरिब नेपालीको सेवा गरी पुण्य कमाउने उदेश्य बोकेका युवा चिकित्सक डा.पुकारचन्द्र श्रेष्ठ नेपालको वीर अस्पतालमा पुनः सफलताका साथ मृगौला प्रत्यारोण गर्ने अठोटका साथ नेपाल फर्कनुभयो ।

उहाँको योजना र कार्यशैली देखि नेपाल सरकारले पनि स्वीकृति दियो । उहाँको टीमले वीर अस्पतालमा ९९ जनालाई मृगौला प्रत्यारोपण गरेसँगै नेपाल सरकारले भक्तपुरमा तत्कालीन मानव अंग प्रत्यारोपण केन्द्र हालको शहिद धर्मभक्त प्रत्यारोपण केन्दका लागि छुट्टै अस्पताल खोल्ने निधो गरि डा.श्रेष्ठलाई कार्यकारी निर्देशकको जिम्मेवारी दियो । समय सापेक्ष छुट्टै मृगौला प्रत्यारोपण अस्पताल खुलेपछि आम मानिसको ध्यान केन्द्रीत हुनु स्वभाविकै थियो । न्यून स्रोत, साधन, जनशक्ति लगायत सानो क्षेत्रमा बनेको प्रत्यारोपण केन्द्र विस्तार गर्ने योजना सहित कलेजो प्रत्यारोपणका लागि समेत सरकार समक्ष प्रस्ताव अघि सार्दै डा. श्रेष्ठको नेतृत्वमा अस्पतालले पूर्णता पायो ।

सन् २०१२ मा खुलेको उक्त अस्पतालले सोही बर्षको नोभेम्बरबाट डा. श्रेष्ठको नेतृत्वमा सेवा सुचारु गरेको रिपोर्टमा उल्लेख गरिएको छ । तत्कालिन मानव अंग प्रत्यारोपण केन्द्र हालको शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र, भक्तपुरले आर्थिक बर्ष २०७५÷२०७६ मा १ सय ८३ जनाको मृगौला प्रत्यारोपणमा सफलता पाएको उल्लेख गरिएको छ ।

त्यसैगरि नेपालको जेठो जनताको प्रत्यक्ष पहुँच राख्ने वीर असपतालमा १४ जनाको मृगौला प्रत्यारोपण सफल भएको छ भने त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा ५५ जनाको मृगौला प्रत्यारोपण सफल भएको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यो तथ्यांक नियाल्दा ३ वटा सरकारी अस्पतालमा २ सय ५२ जनाले नयाँ जीवन पाएका छन् ।

सरकारले दक्ष जनशक्तिको क्षमतामा कमी आउन नदिन जिम्मेवारी दिने र नीति नियमको पालना भए नभएको अनुगमन गर्ने हो भने नेपालमै जटिल भन्दा जटिल उपचार सहज रुपमा सफलता प्राप्त गर्न सक्छ भन्ने कुरा यो रिपोर्टले देखाउँछ ।

शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रको गतिलाई सरकारले निरन्तरता दिने तर्फ थप कार्यक्रम, योजना, दक्ष जनशक्तिको कदर गर्नुपर्ने देखिन्छ । नेपालमा मृगौला प्रत्यारोपणको कुल ७२ दशमल्भ ६ प्रतिशत धर्मभक्तमा मात्र भएको देखिन्छ । त्यसैगरि त्रि.वि.शिक्षण अस्पतालमा २१ दशमल्भ ८ प्रतिशत र वीर अस्पतालमा ५ दशमल्भ ५ प्रतिशत मृगौला प्रत्यारोपण भएको देखिन्छ ।

यति ठूलो संख्यामा मृगौलाका बिरामीलाई सहज र सरल बनाउने नेतृत्व लिँदै आउँनुभएका डा.श्रेष्ठ यतिबेला वीर अस्पतालको दरवन्दीमा फर्काई जिम्मेवार विहिन बनाएको अवस्था छ । यतिबेला वीर अस्पतालमा मृगौला प्रत्यारोपण रोकिएको अवस्था छ । डा.श्रेष्ठको टीमको नेतृत्वले मृगौलाका बिरामीको लागि दिएको सेवा रोकिनु मृगौलाका बिरामीमाथी न्योचित निर्णय गर्न नसकेको भन्ने गुनासो बिरामीहरुको आउँन थालेको छ ।

यति ठूलो जिम्मेवारी लिएर कार्य सम्पन्न गर्ने चिकित्सकलाई वीरमा लगेर थन्क्याउँदा पाईपलाईनमा बसेका बिरामीले उपचार पाउन नसकेको गुनासो गर्दै आएका छन् । सरकारले यस्ता बिषयमा समयमै ध्यान दिएर काम गर्ने मान्छेलाई जिम्मेवारी दिएर जनस्वास्थ्य सेवामा सुधार ल्याउन ध्यान दिनु जरुरी छ । काम गर्नेलाई प्रोत्साहन, सम्मान, गर्ने र जिम्मेवारी पुरा गर्न नसक्नेलाई आवश्यक कारवाही गर्न सक्नुपर्छ । डा.पुकारको नेतृत्वमा भक्तपुरमा ७ बर्षमा ६ सय ९६ जना मृगौलाका बिरामीले नयाँ जीवन पाउँनु देश र राज्यकै लागि ठूलो उपलब्धी हो ।

भारतमा कोभिड १९ को महामारीका बाबजुद्ध पनि अति आवश्यक बिरामीमा मृगौला प्रत्यारोपण शुरु भैसकेको छ । तर नेपालमा मृगौला प्रत्यारोपणका क्षेत्रमा विशेष ख्याती कमाएका चिकित्सक र अस्पतालहरु सून्यमा बस्नुले बिरामीहरु बाध्य भएर पुनः भारत रोज्दै छन् । यो अवस्थालाई रोक लगाउँन सरकारले सेवालाई कोभिडको नियम पालना गर्दै सुचारु गर्ने र दक्ष जनशक्तिको सम्मान गर्ने तर्फ केन्द्रित हुनु जरुरी भएको मृगौला पिडितहरुका साथ विशेषज्ञहरुको ठम्याई छ ।

 

प्रतिक्रिया दिनुहोस्