ट्रम्पका लागि अर्को हप्ता खतरा हुनसक्ने विज्ञहरुको डर



वासिंगटन (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प वाल्टर रीड हस्पिटलबाट ह्वाइट हाउस फर्के देखि नै स्वास्थ्य विज्ञहरु चिन्तित छन् । ट्रम्पका फिजिसिन डाक्टर सान कोनलीका अनुसार ट्र्रम्प डिस्चार्ज हुँदा सबै मानकमा राम्रो थियो ।
ह्वाइट हाउस फर्केपछि राष्ट्रपतिले पहिलो रात आरामसँग विताए । यद्यपी फ्रन्टलाइन डाक्टर्सहरुले कोरोना विरामीको हकमा त्यति छिटो ठीक भएको मान्नु हटार हुने बताएका छन् ।
कयौं अनुसन्धानमा रोग संक्रमणपछिको दोस्रो हप्तामा तिब्र गतिमा बढ्ने गरेको देखिएको छ । सान फ्रान्सिस्कोको युनिभर्सिटी अफ क्यालिफोर्निया डिपार्टमेन्ट अफ मेडिसिनका हेड रोबर्ट वाकटरले पनि कयौं सम्भावना अझै बाँकी नै रहेको बताए । यो बेला ट्रम्प हेलिकप्टर राइडको दुरीमा नभइ आईसीयूबाट ५० फिटको दुरीमा बस्नु पर्ने उनले बताए ।
ट्रम्पको उपचारसँग सम्बन्धित जानकारीले नै विज्ञहरुको चिन्ताको कारण बनेको हो । कोनली आफैले सुरुमा ट्रम्पलाई अक्सिजन दिइएको बताएका थिए तर पछि राष्ट्रपतिको स्वास्थ्य स्थिति त्यति खराब नभएको देखाउने प्रयास भयो । आइतबार मात्रै ट्रम्पलाई डेक्सामेथासोन दिएको जानकारी दिइएको थियो । यो सामान्यतया त्यसता विरामीलाई दिइन्छ जसलाई स्वास लिनमा समस्या देखिएको हुन्छ ।
ट्रम्पलाई अर्को औषधी रेमेडेसिविर पनि दिइएको थियो, जुन परीक्षणकै क्रममा रहेको औषधी हो । जीलिड साइन्सेसले बनाएको उक्त औषधीलाई आपतकालिन अवस्थामा मात्र प्रयोग गर्न अनुमति दिइएको थियो । यो बाहेक ट्रम्पलाई दुईवटा मोनोक्लोनल एन्टीबडी ककटेल दिइयो, जुन बायोटेक कम्पन रेजिनेरोनले बनाएको हो । यी सबैले संक्रमणपछि ट्रम्पको स्वास्थ्य स्थिति धरै नै खराब भएको थियो भन्ने संकेत दिने विज्ञहरुले बताए । कोनलीले ट्रम्पको फोक्सोको स्क्यानमा अपेक्षा गरे अनुसारको नतिजा आएको भने पनि स्क्यान नर्मल थियो, भनेको थिएन । कोनलीको भनाइको अर्थ के हो बुझ्ने प्रयास भइरहेको वाक्टरले बताए ।
ट्रम्पको लक्षण बाहेक उनलाई संक्रमण कहिले भएको थियो भन्ने पनि ठुलो प्रश्न हो । किनभने संक्रमणपछिको दोस्रो हप्ता सबैभन्दा महत्वपुर्ण हुने गर्छ । यही हप्ता मै भाइरस विरुद्ध शरीरले रेस्पोन्स गर्छ । शरीरको यो प्रतिक्रिया अत्यन्तै आक्रामक हुन्छ र फोक्सोलाई नोक्सान पुर्याउन सक्छ । यदि यो अवधिमा विरामीको निगरानी नहुने हो भने थुप्रै अंगले काम नगर्न सक्छ र ज्यान पनि जान सक्छ ।

प्रतिक्रिया दिनुहोस्