अश्विनले फिन्चलाई आउट गरेनन्



नयाँदिल्ली, (एजेन्सी)
इन्डियन प्रिमियर लिग (आईपीएल)को गत सिजनदेखि मान्कडिङको नियम चर्चामा आएको छ । सोमबार राति रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा दिल्ली क्यापिटल्सका अफ स्पिनर रविचन्द्रन अश्विनले सो नियमलाई ब्युँताएका हुन् । अश्विनले बैंगलोरका ब्याटसम्यान एरोन फिन्चलाई मान्कडिङ नियमबाट आउट गरेका थिएनन् । उनले आउट नगरेर ननस्ट्राइकर ब्याटसम्यानका लागि यो पहिलो र अन्तिम चेतावनी भएको समेत बताए ।
अश्विनले पछि कसैले क्रिज पार गरेमा बल फ्याक्नुअघि उनलाई आउट गर्नेसमेत चेतावनी दिए । उनले ट्वीटमा बताए– ‘म यो स्पष्ट गर्न चाहन्छु कि यो मेरो पहिलो र अन्तिम चेतावनी हो । म आधिकारिकरूपमा भनिरहेको छु कि अब कसैले क्रिजबाहिर आउने कोसिस गरेमा उनलाई मान्कडिङद्वारा आउट गर्न बेर लगाउँदैन । यसपछि मलाई कसैले दोषी नठहराउनु ।’
बलरले बल फ्याँक्ने बेला एक्सन लिन्छन् र त्यही बेला नन स्ट्राइकर ब्याटसम्यानले क्रिज छाडेर अघि गएमा बलरले उनलाई आउट गर्न सक्छन् । यसरी आउट गर्ने तरिकालाई मान्कडिङ भनिन्छ । यो धेरै वर्षअघि १९४७ डिसेम्बर १३ मा यस्तो घटना भएको थियो । भारत र अस्टे«लियाबीचको टेस्ट खेल दौरान भारतका बीनु मान्कडले अस्टे«लियाका बील ब्राउनलाई यसै शैलीमा आउट गरेका थिए । यसपछि बीनुको सरनेमको आधारमा यो नियम प्रचलित भएको हो ।
गत सिजनको आईपीएलमा अश्विन किंग्स इलेभेन पन्जाबका कप्तान थिए । उनले सनराइजर्स हैदरावादविरुद्ध खेलमा जोस बटलरलाई यसरी नै आउट गरेका थिए । ऋद्धिमान साहाको लागि पनि उनले मान्डडिङ तरिकाद्वारा आउट गर्न खोजेका थिए । तर दुवैपटक साहा सतर्क भएका थिए । सोमबार राति फिन्चलाई उनले आउट गर्न सक्थे तर उनले यसो गरेनन् ।
अश्विनले फिन्चलाई आउट नगरेपछि सो घटना हेरेर दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ मुस्कुराइरहेका थिए । पोन्टिङले आईपीएलको यस सिजनको शुरुआतमा ट्याग गर्दै स्पष्ट गरे कि उनले अश्विनलाई मान्कडिङ गर्न दिने छैनन् । तर अश्विनले ट्वीटमार्फत् पोन्टिङलाई ट्याग गरेर स्पष्ट गरे कि अगाडि उनले सल्लाह मान्नेछैनन् । अश्विनले अघिल्लो वर्षमा नै भनेका थिए– ‘यदि मान्कडिङबाट आउट गर्ने नियम छ भने यसको प्रयोग गर्नु आवश्यक पनि छ । नियम त खेलको लागि बनेको हो । गलत छ भने यसलाई हटाइदिनु पर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्