दिल्ली क्यापिटलको चौथो जित



दुबई, (एजेन्सी)
दिल्ली क्यापिटल्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा चौथो जित हात पारेको छ । दिल्लीले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पाखा लगाएको हो । योसँगै जारी प्रतियोगितामा ५ खेल खेलेको दिल्ली अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा उक्लियो । बैंगलोरको यो ५ खेलमा दोस्रो हार हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले १ सय ९७ रनको लक्ष्य दिएको थियो । जवाफमा बैंगलोर ९ विकेटको क्षेतिमा १ सय ३७ रनमा समेटिएको थियो । दिल्लीलाई जित दिलाउन कागिसो रबाडाले ४ तथा एन्रिच नोर्तजे र अक्षर पटेलले २÷२ विकेट लिए । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिनुबाहेक अन्यले निरस खेल पस्केका थिए । देवदत्त पडिक्कल ४ रन, एरोन फिन्च १३ रन र एबी डिभिलियर्स ९ रन बनाएर आउट हुनु नै बैंगलोरलाई हारतिर अग्रसर गराएको थियो ।
दिल्लीको ब्याटिङमा सबैभन्दा बढी मार्कस स्टोइनिसले योगदान दिए । उनी ५३ रनमा नटआउट रहेका थिए । यो उनको आईपीएलमा तेस्रो अर्धशतक थियो । अन्यमा ऋषभ पटेलले ३७ रन बनाए । बैंगलोरका बलरमा मोहम्मद सिराजले २ विकेट लिए भने इसुरु उडाना र मोइन अलीले १÷१ विकेट हासिल गरेका थिए । यसअघि दिल्लीका लागि ओपनिङ साझेदारीमा शिखर धवन र पृथ्वी शाले ६८ रन जोडेका थिए । शिखरले ३२ रन र पृथ्वीले ४२ रन बनाए।
हार बाबजुद विराट कोहलीले यस खेलमार्फत् कीर्तिमान राखेका छन् । विराटले टी–२० क्रिकेटमा एउटै टिमबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान रचेका हुन् । उनले रोयल च्यालेन्जर्स बैंगलोरका लागि १ सय ९७ खेल खेलेका छन् । भारतीय क्रिकेट टिमका कप्तान यसअघि जेम्स हिल्डे«थले समरसेटका लागि १ सय ९६ खेल खेलेको कीर्तिमानसँग बराबरीमा थिए । त्यस्तै विराटले टी–२० क्रिकेटमा ९ हजार रन पूरा गर्ने पहिलो भारतीय क्रिकेट बन्ने पनि कीर्तिमान बनाए ।

प्रतिक्रिया दिनुहोस्