जोकोभिचले फेरि लाइन जजलाई प्रहार गरे



पेरिस, (एजेन्सी)
पेरिसमा जारी फ्रेन्च ओपन टेनिस प्रतियोगिताअन्तर्गत चौथो चरणमा नोभाक जोकोभिचले लाइन जजको अनुहारमा बलले प्रहार गरेका छन् ।
३३ वर्षीय सर्बियाली खेलाडीले गत महिना सम्पन्न यूएस ओपन टेनिस प्रतियोगितामा पनि बलले लाइन जजको घाँटीमा प्रहार गरेका थिए । त्यो बेला उनी अयोग्य घोषित हुँदै चौथो चरणबाट बाहिरिनुपरेको थियो । तर पेरिसमा भने उनी प्रतियोगिताबाट बाहिरिनुबाट बचेका छन् । खेल जारी रह्यो र उनले कारेन खाचानोभमाथि सीधा सेटको जित पनि निकाले । उनले यो जितसँगै क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।
लाइन जजको अनुहारमा बलले लागेपछि जोकोभिचले बताए– ‘मलाई आशा छ उनी ठीकै छन् । तर यो प्रहार लाग्यो किनभने म धेरै नजिक थिएँ ।’
पहिलो सेटमा खाचानोभले फर्काएको बलले जोकोभिचको ¥याकेटमा लागेर लाइन जजको अनुहारमा लागेको थियो । त्यो प्रहार लागेपछि नियतबस नहानेको ठहराएको थियो । अकस्मात् बलले अनुहारमा लागे पनि लाइन जजलाई कुनै चोट लागेन । न्युयोर्कमा जस्तो घटना भने दोहोरिएन ।
न्युयोर्कमा महिला लाइन जजको घाँटीमै बलले लागेको थियो । त्यो बल प्रहार जोकोभिचले निरास भएर हान्दा महिला जजको घाँटीमा लागेको थियो । उनी त्यतिबेलै भुइँमा ढलेकी थिइन् । तर अहिले उनी ठिक छिन् ।
जोकोभिचले यस विषयमा बताए– ‘यस्तो घटना मलाई मात्र भएको छ । विगत १५ वर्षदेखि खेलिरहेको मैले अरू खेलाडीबाट यस्तो भएको पनि होला । तर एउटा कुरा बल ¥याकेटबाट प्रहार हुने भएकोले कसै कसैलाई लागिहाल्छ ।’
जोकोभिचले अन्तिम ८ मा कारेनो बुस्टाविरुद्ध खेल्नेछन् । यूएस ओपनमा पनि चौथो चरणमा उनलाई अयोग्य घोषित नगरेको भए बुस्टासँगैं क्वार्टरफाइनल खेल खेल्ने तय थियो । स्पेनका बुस्टाले जर्मन क्वालिफायर डेनियल अल्टमाइरलाई ६–२, ७–५, ६–२ ले हराएका थिए । जोकोभिचले भने रुसका खाचाकोभलाई ६–४, ६–३, ६–३ ले पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्