भुक्तानीमा दबाब नदिन व्यवसायीको आग्रह



नेपाल समाचारपत्र, कास्की
नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिविपरीत पर्यटन व्यवसायीलाई किस्ता र ब्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाहरुले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।
नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स् (नाट्टा), गण्डकीले पोखरामा आयोजना गरेको नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिसम्बन्धी बैंक तथा वित्तीय संस्थाहरुसँग अन्तक्र्रियात्मक कार्यक्रममा बोल्दै पर्यटन व्यवसायीहरुले सो गुनासो गरेका हुन् ।
कोरोना महामारीका कारण पर्यटन क्षेत्र अति संवेदनशील क्षेत्रमा राखे पनि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण तथा ब्याज चुक्ताका लागि लगातार दबाब आउँदा आफूहरु झनै अप्ठ्यारोमा परेको व्यवसायीहरूको भनाइ रहेको थियो ।
व्यवसायीका गुनासो आएपछि नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक ईश्वरीप्रसाद भट्टराईले मौद्रिक नीतिका आधारमा रहेर काम गर्न बैंक तथा वित्तीय संस्थालाई सो क्रममा निर्देशनसमेत दिनुभयो। उहाँले भन्नुभयो– ‘सक्ने उद्यमीले कर्जा तिरी दिनुहोस्, नसक्ने उद्यमीको हितको लागि सरकारले दिएको सीमासम्म ताकेता नगर्नुहोस् ।’
नेपालमा बैंक तथा वित्तीय क्षेत्रको पर्यटन क्षेत्रमा मात्रै १ सय ४० अर्ब रुपियाँ लगानी रहेको भन्दै भट्टराईले यसलाई जोगाउने दायित्व सबै पक्षको रहेको बताउनुभयो।
उहाँका अनुसार गण्डकी क्षेत्रमा क, ख, ग वर्गका मात्र ७ सय २६ वटा शाखा छन् । प्रत्येक शाखाले कम्तीमा ५ जनालाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्नेछ । सोअनुरुप आवश्यक प्रक्रिया गर्न सुझाव दिँदै उहाँले अतिप्रभावित व्यवसायीलाई ऋण उपलब्ध गराउन सकिने बताउनुभयो।
नेपाल बैंकर्स एसोसिएसन गण्डकीका अध्यक्ष दीपेन्द्र शर्माले बैंकले फोन गरे भन्दैमा आतंकित नहुन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘बैंकले बोलायो भन्दैमा पैसा नै माग्न बोलायो भन्ने नसोच्नुहोस् । उपाय खोज्नका लागि ऋणीसँग आवश्यक सल्लाह सुझावका लागि फोन आएको हुन सक्छ ।’ एनआईसी एसिया बैंकका गण्डकी प्रदेश प्रमुखसमेत रहनुभएका शर्माके वित्तीय क्षेत्र धराशयी नहुने गरी व्यवसायीले मर्का बुझी दिन आग्रह थियो।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटन क्षेत्रको लगानी डुब्दा बैंक तथा वित्तीय क्षेत्र पनि डुब्ने सम्भावना रहेकोले व्यवसायीलाई आतंकित नपार्न आग्रह गर्नुभयो।
आयोजक नाट्टा गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले राष्ट्र बंैकले जारी गरेको मौद्रिक नीतिअनुरुप सेवासुविधा व्यवसायीले लिन नसकेको बताउनुभयो।
पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटन क्षेत्रलाई कृषि क्षेत्रमा दिइने ब्याजदर अनुरुप ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘हामीहरुले ऋण तिर्दैनौं भनेका हैनौं, तर सहज भएपछि तिर्छौं, त्यसका लागि बैंक तथा वित्तीय संस्थाले हेरिदिनुपर्छ ।’
कार्यक्रममा नाट्टाका उपाध्यक्ष हरिराम अधिकारी, महासचिव कमला गिरी, सचिव संगीता पौडेल, कोषाध्यक्ष राजेश पहारीले व्यवसायीको हकहितको पक्षमा बैंक तथा वित्तीय संस्थाले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा गरिमा विकास बैंकका भोला तिवारी, मुक्तिनाथ विकास बैंकका बाबुराम ढकाल, सिभिल बैंकका समीर केसी, राष्ट्रिय वाणिज्य बैंकका ऋणि ढकाल, मेघा बैंकका ज्ञानेन्द्र पन्त, सतिष ढकाललगायतको मौद्रिक नीतिअनुरुप नै बैंक तथा वित्तीय संस्थाले कार्यसञ्चालन गरेको दाबी रहेको थियो।
यसैबीच, जारी मौद्रिक नीतिमा कोभिड–१९ संकटबाट अति प्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटल, रेस्टुरेन्टलगायतका पर्यटन क्षेत्रका उद्यम–व्यवसाय पुनरुत्थानका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनरकर्जा प्रवाहमा प्राथमिकता दिइने उल्लेख छ ।
पर्यटन क्षेत्रसँग सम्बन्धित निर्माणाधीन आयोजनाहरु निर्माण सम्पन्न गर्न पुँजीको अभाव हुने भएमा त्यस्ता आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट सहज ढंगबाट कर्जा उपलब्ध हुने व्यवस्था छ ।
वाणिज्य बैंकहरुले २०८१ असार मसान्तसम्म लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा रु. १ करोडभन्दा कम रकमका कर्जाहरु आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाह गर्नुपर्ने व्यवस्था मिलाइने उल्लेख छ ।
पोखराको समग्र पर्यटन क्षेत्रमा ४ खर्बको लगानी रहेको पर्यटन व्यवसायीको भनाइ छ । त्यसमा करिब ७५ अर्ब रुपियाँ बराबर बैंक तथा वित्तीय संस्थाको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्