सरकारले ध्यान नदिए स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी



भगवती तिमल्सिना, काठमाडौ

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन बचाउ अभियानमा चौतर्फीरुपमा दबाब सृजना भएपछि नेपाल सरकारले डा. केसीको सत्याग्रहको २३औं दिनमा उहाँलाई भेट्न शिक्षा सचिवसहित ३ जनाको टोलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज बिनाएजेन्डा पठाएको छ ।

शिक्षा सचिवसहितको टोली आएर डा. केसिलाई सत्याग्रह रोक्न आग्रह मात्र गरे र टोलीले सरकारका तर्फबाट औपचारिक वार्ता टोली नबनेको जानकारी दियो । डा. केसीले ‘यसअगाडि नै सरकारका प्रवक्ताले त्यही कुरा भनेकाले त्यसका लागि दुःख पाउन नपर्ने थियोे’ भन्नुभयो । साथै मागहरूमा छलफल गर्ने हो भने सरकारले आधिकारिकरूपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान राखेर फिर्ता पठाइदिनुभएको डा. केसीका सहयोगी प्रीतम सुवेदीले जानकारी गराउनुभयो । यो रवैयाले डा. केसीको स्वास्थ्य नाजुक भइरहँदा सरकारको संवेदनहीनता प्रस्ट हुन्छ ।

नेपाल चिकित्सक संघले आइतबारै डा. केसीको जीवन रक्षाका लागि वार्ताटोली गठन गरी वार्ता शुरु नगरे संघले जस्तोसुकै कदम चाल्नुपरे पनि पछि नहट्ने अल्टिमेटम दिएको छ । सरकारलाई संघले अल्टिमेटम दिएको पनि ४८ घण्टा बितिसकेको छ ।

त्यसै गरी विभिन्न रेजिडेन्ट डक्टर एसोसियसनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै निस्वार्थी, निष्ठावान् सत्याग्रही डा. केसीको १९औं अनशनको २३ दिन बितिसक्दा पनि सरकारका तर्फबाट वार्ताको लागि कुनै पहलसमेत नहुनुले नेपाल सरकारको गैरजिम्मेवारीपन उदांगो भएको उल्लेख गरिएको छ । एसोसियसनले २ दिनअघि दिएको अल्टिमेटमअनुसार नै कडाभन्दा कडा कार्यक्रम अघि बढाउने जनाएको छ ।

नेसनल रेजिडेन्ट डाक्टर्स एसोसियसन त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका अध्यक्ष डा. सुभाष देवकोटा, रेजिडेन्ट एसोसियसन अफ न्याम्स चिविराप्र (न्याम्स), वीरअस्पताल, काठमाडौंका अध्यक्ष डा. प्रकाश भट्टराई र जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका अध्यक्ष डा. राजेन्द्र घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै ओपीडी सेवा बहिष्कार गर्ने, कालो पट्टी हित विविध धर्नाका कार्यक्रम गर्ने, कोभिड, इमर्जेन्सी र इन्डोर सेवामा कालो पट्टी बाँधेर ड्ुूटीलाई निरन्तरता दिने जनाएका छन् ।

जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका अध्यक्ष डा. राजेन्द्र घिमिरे, उपाध्यक्ष डा. पदम नेपाली, सचिव डा. गणेश फूलाराले जारी गरेको आह्वानमा आजको कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै २१ गतेको कार्यक्रम सार्वजनिक गरेका छन् ।

कार्यक्रममा बिहान ८ बजे भेला भई भानु चोकसम्म ¥याली गर्ने र पुनः कोणसभा गरी धर्नामा परिणत हुने जनाएको छ । त्यसै गरी सरकारले वार्ताटोली गठन नगरेसम्म रिन्तररुपमा बुधबारदेखि नै इमर्जेन्सी र कोभिडबाहेक सम्पूर्ण स्वास्थ्य सेवाहरुमा सहभागी नहुने र सहयोग र समर्थनका लागि सबै फ्याकल्टीलाई अनुरोध गरेको छ । यदि सरकारले वार्ता टोली गठन गरेमा डा. केसीको जीवन रक्षाको सुनिश्चित नहुन्जेल २ घण्टा इमर्जेन्सी र कोभिडबाहेकको सेवा बहिष्कार गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्