सुदूरपश्चिमका सात पहाडी जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा चरम लापरवाही



राम धामी, डडेल्धुरा ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा सञ्चालित सार्वजनिक सवारी साधनहरुले सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि जारी गरेको निर्देशिका र न्युनतम मापदण्ड उलङ्घन गरेको पाइएको छ ।

सार्वजनिक सवारी साधनहरुले मापदण्ड अनुसार यातायात सेवा प्रवाह नगर्दा कोरोना संक्रमणको जोखिम बढेको अनुगमनमा संलग्न अधिकारीहरुले जनाएका छन । मंगलबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराका अगुवाईमा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्रविन्दु डडेल्धुराको स्याउले बजारमा गरिएको सार्वजनिक यातायात सेवाको स्थलगत अनुगमनका क्रममा अधिकांस सवारी साधनहरुले मापदण्ड विपरित यातायात सेवा सञ्चालन गरिरहेको पाइएको हो ।

डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा अधिकांस सवारी साधनहरुले मापदण्ड अनुसार यातायात सेवा सञ्चालन नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ । सार्वजनिक यातायातका साधनहरुले मापदण्ड विपरित यातायात सेवा सञ्चालन गरिरहेकाले उनीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेले जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा अपनाउनु पर्ने न्युनतम मापदण्ड नअपनाएका यहाँका सार्वजनिक यातायात कम्पनीहरुले सार्वजनिक सवारी साधनलाई चलानी नदिएको, यातायातका साधनहरुको क्षमता भन्दा पनि बढि यात्रुहरु राखेर निर्धारित भाडादर भन्दा दोब्बर भाडा असुल गरिरहेको, यात्रु र यातायातकर्मीहरुले मास्क र सेनिटाईजर प्रयोग नगरेको पाईएको अनुगमनमा संलग्न सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

अनुगमनमा संलग्न जिल्ला प्रशासन कार्यालय डडेल्धुराका नायब सुब्बा चन्द्रबहादुर रोकायाले स्याउले बजारमा छडके अनुगमनका क्रममा आधा दर्जन जति सार्वजनिक सवारी साधनहरुलाई चेकजाँच गर्दा कुनै पनि सवारी साधनले सार्वजनिक सवारी साधनका न्युनतम मापदण्ड पुरा नगरेर यातायात सेवा सञ्चालन गरिरहेको पाइएको बताए । उनले मापदण्ड विपरित सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरुलाई नियमानुसार जरिवाना गरिएको र स्थानीय प्रशासनले निरन्तर रुपमा सार्वजनिक सवारी साधनहरुको अनुगमन गर्ने जानकारी दिए ।

डडेल्धुरा भएर सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा यातायात सेवा प्रवाह गरिरहेका सार्वजनिक सवारी साधनहरुले मापदण्ड विपरित यातायात सेवा प्रवाह गरिरहेकाले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने स्वास्थ्यकर्मीहरु बताउछन । ‘सार्वजनिक सवारी साधनहरुले यातायात सेवा सञ्चालन गर्दा अपनाउनुपर्ने न्युनतम मापदण्ड पुरा गरेर यातायात सेवा सञ्चालन नगर्ने हो भने कोरोना संक्रमणको दर बढदै जाने अबस्था छ,’ स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले भने, ‘सार्वजनिक सवारी साधनहरुमा कोरोना संक्रमण बढदै गएका स्थानहरुबाट पनि यात्रुहरु आउजाँउ गर्ने भएकाले न्युनतम मापदण्ड पुरा नगरेर सार्वजनिक यातयात सेवा सञ्चालन गर्दा कोरोना महामारी संक्रमणको जोखिम बढ्ने निश्चित छ ।’

प्रतिक्रिया दिनुहोस्