अध्यक्ष उपाध्यक्षको विवादका कारण गाउँपालिका ठप्प



न्युज अफ नेपाल, भद्रपुर।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबिचजुँगाको लडाईका कारण चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रमाणिकरण भएको छैन । प्रमाणिकरण नहुँदा तीन महिना यताबाट जनता सेवा सुविधाबाट बञ्चित भएका छन् ।

झापा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन र उपाध्यक्ष डम्बर बहादुर गिरीकोबिचको विवादले जनतामा अन्यौल छाएको छ । विवाद समाधान नभएपछि दुईहप्ताभित्र उत्पन्न विवाद मिलाउन नेपाली काँङ्ग्रेसले समयसीमा तोकेको छ । तोकिएको अवधिभित्र समस्या समाधान नगरिए ससक्तरुपमा कडा कार्यक्रममा जाने सो पार्टीले जनाएको छ । नेपाली काँङ्ग्रेस हल्दीबारी सभापति दिलीप कुमार मावो र काँङ्गे्रस विशेष कार्यदल हल्दीबारीका संयोजक तुलसी प्रसाद ओलीको नेतृत्वमा मङ्गलबार हल्दीबारी गाउँपालिका कार्यालयमा गएको टोलीले १४ बुद्दे ध्यानाकर्षण विषयहरु उल्लेख गरि ज्ञापन पत्र मार्फत यस्तो जनाएको हो ।

अध्यक्ष लिङदेन र उपाध्यक्ष गिरीको जुँगाको लडाईका कारण जनता सेवा सुविधाबाट बञ्चित भएको भन्दै तत्काल निकास निकाल्न काँङ्ग्रेसले समयसीमा अघि सारेको हो । पार्टीले प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहाललाइ ज्ञापन पत्र बुझाएर तत्काल समस्या समाधान गर्न अनुरोध गरेका थिए ।

बजेट नीति तथा कार्यक्रम प्रमाणिकरण नहुँदा जनता सेवा सुविधाबाट बञ्चित हुनु परेको , अनावश्यक कर्मचारी नियुक्ति गरेकोले ती कर्मचारीलाइ अवकास दिनुपर्ने ,पालिका अन्र्तगत रहेका शिक्षक तथा कर्मचारीलाइ चालु आर्थिक वर्ष यता बाट रोकिएको तलब अविलम्ब निकासा हुनुपर्ने, गत आर्थिक वर्षमा विभिन्न सञ्चारमाध्याममा भएको लाखौँ लाख रुपैयाँ अपारदर्शी भएकोले छानविन गरिनु पर्ने , कार्यालय प्रयोजनका लागि गाउँपालिकाले सवारी साधन खरिद गर्न गाउँसभाले ३५ लाख अनुमोदन गरेको तर पछि कार्यपालिका वैठकले पुनः २० लाख थप गरिएको विषयमा प्रष्ट पार्नुपर्ने, त्यसैगरी सहकारीलाइ वितरण गर्ने ट्याक्टर कम्पनीसँग खरिद नगरी कमिशनमा सहारा साकोसबाट खरिद गरिएको विषयमा जानकारी गराउँनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै आर्थिक वर्ष ०७५।७६ मा ५० लाखमा ठेक्का लाग्ने देउनिया खोलामा आफ्ना कार्यकर्ता नियुक्ति गरि राजस्व उठाउनबाट वञ्चित गरिएको , गत वर्ष भेलागढी सीमसार क्षेत्रमा आयोजना गरिएको हल्दीबारी महोत्सवमा लाखौँ रुपैयाँ घाटा हुने गरी ठेक्का लगाएको विषयमा छानविन गरी दोसीलाइ कारबाही गरिनु पर्ने , लक्षित समूहको लागि गरिएका कार्यक्रममा विभेद गरिएकोले समान व्यवहार गर्नु पर्ने , सूचनाको हक माग्दा जिम्मेवार पदाधिकारीबाट महिलामाथि गरिएको गाली गलौज र अपशब्दको विषयमा प्रष्ट पार्नुपर्ने, पालिकाले शिक्षा नियम लागूगरी शिक्षा ऐन २०२८ संसोधन सहितको बर्खिलाप गरेकोले तत्काल खारेज गरी मौजुदा शिक्षा ऐन र शिक्षा नियमावली अनुसार कामकारबाही गरिनु पर्ने , सडक निर्माण गर्न सार्वजनिक खरिद ऐन विपरीत विना प्रतिस्पर्धा उपभोक्त समिति समेत निर्माण नगरी एउटा व्यक्तिलाइ ६० लाख सम्मको काम गर्न व्यक्तिगत जिम्मेवारी दिइएकोले यस्ता अनियमिता तत्काल बन्द गरिनु पर्ने , कोभिड १९ मा भएको खर्च जनसमक्ष सार्वजनिक हुनु पर्ने, प्रकोप राहत तथा जनता उपचार कोष वितरण विभेदपूर्ण भएकोले वितरण गरिएको रकम सार्वजनिक गरिनु पर्ने, वडामा विनियोजन गरिएको बजेट सवै वडालाइ समान हुनुपर्ने र विद्यालयको जग्गामा अन्य प्रयोजनमा प्रयोग गरिएकोले अबिलम्ब बन्द गरिनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

पार्टीले हल्दीबारी गाउँपालिका सहित जिल्ला प्रशासन कार्यालय र समन्वय समितिको कार्यालयमा बोदार्थ दिएको संयोजक ओलीले बताउँनुभयो । प्रमुख प्रशासकीय अधिकृतलाइ ज्ञापन पत्र बुझाएपश्चात पालिका परिसरमा कोणसभा गरेका थिए ।

हल्दबारी गाउँपालिकाको सातौं गाउँसभाको असार १० गते पहिलो बैठक बिथोलिएपछि दुइ पदाधिकारीबिच विवाद उत्कर्षमा पुगेको छ । आगामी वर्ष०७७।७८ को बजेट ,नीति तथा कार्यक्रम प्रस्तुत् गर्ने विषयमा अध्यक्ष र उपाध्यक्ष समूहबिच विवाद बढेर गएपछि चालु आर्थिक वर्षको कामकाज ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्