शैक्षिक सत्र अन्त्य हुँदासमेत भर्ना वञ्चित



न्युज अफ नेपाल, हेटौंडा ।

कृषि तथा बनविज्ञान विश्वविद्यालय, बनसंकाय हेटौंडामा विद्यार्थीको भर्ना लिएर अध्ययन गर्ने वातावरण सिर्जना गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ ।

नेवि संघ बनसंकाय हेटौंडाले कृषि तथा बनविज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा पुण्य रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीलाई अदालतको स्टेअर्डरलाई टेकेर यथाशीघ्र भर्ना सुरु गर्न अनुरोध गरेको हो ।

नेवि संघ बनसंकाय सभापति नवराज उपाध्यायसहित टोलीले ज्ञापनपत्र बुझाउँदै बनसंकायका अन्य सेमेष्टरको पठनपाठन समेत थप सशक्त र प्रभावकारीढंगले बैकल्पिक तवरबाट सञ्चालन गर्न अनुरोध गरेको छ ।

प्रशासनको अपरिपक्वता र ढिलासुस्तीका कारण आम विद्यार्थीमाझ विश्वविद्यालयप्रति खराब र नकारात्मक सोच उत्पन्न भएको सभापति उपाध्यायले बताउनुभयो । बनसंकायका पदाधिकारीद्वारा चालिएका हरेक कदम र घटनाको सूक्ष्म अध्ययन गरी यसअघि मेरिट लिष्टमा छनौट गरेर पनि भर्ना अघि नबढाइएपछि सर्वोच्च अदालत जान बाध्य पारिएका विद्यार्थीलाई न्याय दिन नवनियुक्त उपकुलपतिसँग आग्रह गरिएको छ ।

अस्वस्थ्य राजनीतिक दबाब, पैसाको चलखेल गरी कामचलाउका रुपमा रहेकी पूर्व भीसीले आवेदन फाराम भर्दा प्रकाशित भर्ना सम्बन्धि सूचनाको बुँदा–२०, भर्ना सम्बन्धि सम्पूर्ण अधिकार डीन कार्यालयमा निहीत रहने व्यबस्था र भर्ना समितिले गरेका निर्णयविपरीत गैरजिम्मेवारी तवरले आफू र आफ्ना अनुकूल विद्यार्थीलाई प्राथमिकता दिएर पूर्वप्रकाशित भर्ना सूची बेवास्ता गरी नयाँ भर्ना सूची प्रकाशन गर्न बनसंकाय हेटौंडालाई लिखित आदेश दिएको विद्यार्थीको दाबी छ ।

‘सत्ता र पद दुरुपयोग गर्दै पूर्व प्रकाशित भर्ना सूची लत्याउँदै विद्यार्थीको पढ्न पाउने अधिकार हस्तक्षेप गर्दा विद्यार्थी स्वयम् न्यायको खोजीमा अदालत गुहार्न पुगे,’ उपकुलपतिसमक्ष बुझाइएको पत्रमा भनिएको छ–विद्यार्थीका जायज मागउपर अन्तरिम आदेश जारी हुँदा पनि बनसंकायले भर्ना लिनुको साटो विद्यार्थीको भविष्य अन्यौलमा पारिएको छ ।

कृषि तथा बनविज्ञान विश्वविद्यालय बनसंकाय हेटौंडाले २०७६ पुस ५ गते प्रवेश परीक्षा लिएर सोही दिन बेलुका सार्वजनिक गरेको नतिजामा नाम निकालेका विद्यार्थी शैक्षिक सत्र २०७६ अन्त्य हुन लाग्दासमेत भर्ना हुन पाएका छैनन् ।

कृषि तथा बनविज्ञान विश्वविद्यालय बनसंकाय हेटौंडाले ८ औं ब्याच शैक्षिक सत्र २०७६/०७७ का लागि सञ्चालन हुने बनविज्ञान स्नातक तहमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएर उत्तीर्ण भएका विद्यार्थीको भर्ना सूचनाअनुरुप हेटौंडा तथा कटारी क्याम्पसतर्फ अध्ययन गर्न चाहने विद्यार्थीको मेरिट लिष्ट प्रकाशन गरेको थियो ।

विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेको कृषि तथा बनविज्ञान विश्वविद्यालयअन्तर्गत् हेटौंडाको बनसंकायको लापरबाहीका कारण विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्