ओखलढुंगामा निर्माणाधीन वीपी स्मृति भवनको आय व्यय विवरण सार्वजनिक



न्युज अफ नेपाल, ओखलढुंगा ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुंगाले निर्माणाधीन वीपी स्मृति भवनको आय व्यय विवरण सार्वजनिक गरेको छ । कांग्रेसले जिल्ला सदरमुकाममा एक प्रेस कन्फ्रेन्सको आयोजना गरेर आयव्यय विवरण सार्वजनिक गरेको हो ।

सिद्धिचरण नगरपालिका ११ रामबजारमा निर्माण भइरहेको भवन निर्माणका लागि हालसम्म नगद आम्दानी *४४ लाख ३४ हजार ३ सय १६ रुपैयाँ र जिन्सी आम्दानी ३ लाख ९४ हजार ५ सय रुपैयाँ गरी ४८ लाख २८ हजार ८ सय १६ रुपैयाँ आम्दानी भएको छ । भवन निर्माणका लागि ४३ लाख ६२ हजार ४ सय १४ रुपैयाँ भुक्तानी भएको र ९ लाख २४ हजार ९ सय ३० रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । जसमा ३ लाख ९४ हजार ५ सय रुपैयाँ बराबरको जिन्सी आम्दानी समेतको खर्च जोड्दा ५६ लाख ८१ हजार ८ सय ४४ रुपैयाँ खर्च भएको जनाइएको छ ।

१ करोड ७ लाख रुपैयाँ लगत स्टीमेटमा तयार भइरहेको सो भवनको चौथो तला ढलानको काम समेत सकिएको छ । भवन निर्माण सम्पन्न गर्नका लागि लगत स्टीमेट अनुसार ५८ लाख ७१ हजार १ सय ८४ रुपैयाँ अपुग देखिएको भवन निर्माण समितिका संयोजक कुमारबहादुर श्रेष्ठले बताए ।

ओखलढुंगा कांग्रेसले हालसम्म सहयोग उपलब्ध गराउने व्यक्ति तथा संस्थाहरुको नामावली समेत सार्वजनिक गरेको छ । सहयोगीहरुको नामावली सार्वजनिक गर्दै कांग्रेसले भवन निर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सहयोगीहरुमा कृतज्ञता व्यक्त गरेको छ । भवन निर्माण कार्य पूर्ण रुपमा सम्पन्न गर्न आर्थिक सहयोग गर्न बाँकी रहेका पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं शुभेच्छुक तथा शुभचिन्तकहरुले यथाशीघ्र सहयोग रकम उपलब्ध गराएर सहयोग गरिदिनु हुन ओखलढुंगा कांग्रेसका सभापति प्रदीपकुमार सुनुवारले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्