छोरीको सम्झनामा खाना



काठमाडौं, (नेस)
टुँडिखेल बसपार्कमा सञ्चालनमा रहेको गरिबलाई खाना वितरण कार्यक्रमले १ सय ९३ दिन पूरा गरेको छ । १०० ग्रुपद्वारा सञ्चालित सो खाना खुवाउने कार्यक्रमलाई सहयोग गर्नेहरूको पनि कमी रहेको छैन ।
यसै सिलसिलामा आफ्नी छोरी नयोनिका सिलवालको सम्झनामा पूर्वजर्नेल डा. पूर्ण सिलवालले एक दिनको खाना सहयोग गर्नुभएको छ । दैनिक ४ सयको हाराहारीमा खाना खुवाउने गरेको सो समूहका युवा अंशु यादवले बताउनुभयो ।
पप्लु गुप्ताको सहयोगमा सञ्चालनमा रहेको सो खाना खुवाउने कार्यक्रमले निरन्तरता पाइरहेको यादवको भनाइ थियो ।
आफ्नी छोरीको सम्झनामा एक दिनको खाना बराबरको रकम सो समूहलाई हस्तान्तरण गरेको सिलवाले बताउनुभयो । यसभन्दा अघि विभिन्न राजनीतिक दल, सहयोगी हातहरूले सो समूलाई सहयोग गर्दै आइरहेका थिए । हाल पनि सहयोग जारी रहेको यादवको भनाइ छ ।
खाना स्वादिलो तथा स्वस्थ रहेकाले ६ महिनादेखि यही खाना खाँदै आएको काभ्रेका ५५ वर्षीय राम श्रेष्ठले बताउनुभयो । उहाँले माछामासुबाहेक अन्य सबै कुरा खानामा समावेश हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्