बले दम्पतीविरुद्ध १९ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा



विकास भट्टराई, काठमाडौं
सम्पत्ति शुद्धीकरण विभागले बले उपनामले चिनिने बलराम सापकोटा र उनकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध झन्डै १९ करोड रुपियाँ अवैधरूपमा कमाएको दाबी गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले ती दम्पतीलाई त्यति नै रकम जरिवाना गर्न पनि अदालतसँग माग गरेको छ । विभागले ती दम्पतीको नाममा रहेको झापाको विभिन्न ठाउँमा जग्गा भएको अभियोगपत्रमा उल्लेख छ । ती जग्गाको स्रोत नखुलेको पनि विभागले जनाएको छ ।
बलेको नाममा रहेको भक्सवागन नामक गाडी पनि स्रोत नखुलेको उल्लेख गरेको छ । त्यसकारण सो गाडी जफत गर्नुपर्ने अभियोगपत्रमा उल्लेख गरिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा बलेको स्रोत नखुलेको रकम पनि भेटिएको दाबी विभागको छ । त्यस बैंकमा झन्डै सात लाख रहेको जनाइएको छ । त्यसलाई पनि जफत गर्न माग गरिएको छ ।
बले र उनकी श्रीमती सिर्जनाको नाममा भेगास सिटी, एम्पिल फ्लाइट र पञ्चकन्या उद्योगमा पनि लगानी रहेको विभागले उल्लेख गरेको छ । ती संस्थामा ती दम्पतीको करोडौं रुपियाँको लगानी भएको जनाइएको छ । अवैधरूपमा कमाएको सम्पत्तिलाई ती दम्पतीको नाममा राखिएको बताइएको छ । बलेविरुद्ध विभागले १७ करोड रुपियाँभन्दा बढीको बिगो कायम गरिएको छ भने सिर्जन विरुद्ध साढे २ करोडको बिगो भएको उल्लेख गरिएको छ ।
विभाग केही वर्षअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत आएको थियो । विभाग सो कार्यालयअन्तर्गत आएपछि यो सबैभन्दा बढी बिगो भएको यो पहिलो मुद्दा भएको विभाग स्रोतले बतायो ।
विशेष अदालतले अब ती दम्पती उपस्थित भएपछि बयान लिने र थुनछेकको आदेश हुनेछ । थुनछेकको आदेशमा थुनामा राख्ने वा धरौटी माग्ने वा साधारण तारेखमा राख्ने भन्ने सम्बन्धमा निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्