लक्षित समुदायको बजेट नपाएपछि दलित समुदायद्वारा वडा कार्यालयमा ताला



राम धामी, डडेल्धुरा ।

लक्षित वर्गका लागि बिनियोजित बजेट पहुँचवालाको हातमा गएको भन्दै अमरगढी नगरपालिका वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरिएको छ ।

सोमबार स्थानीय दलित समुदाय ब्यक्तिहरुले एक विज्ञप्ति जारीगर्दै लक्षित समुदायका लागि बिनियोजित बजेट पहुँचवालाले मात्रै पाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेपछि अमरगढी नगरपालिका–१ मालमस्थित समैजी शार्की टोलका सबै घरधुरीलाई बाख्रापालनका लागि बजेट बिनियोजन गरिने सहमति भएको छ ।

वडा कार्यालयले बाख्रापालनका लागि समैजी शार्की टोलमा लक्षित बर्गको बजेटबाट एक लाख रकम विनियोजन गरेको थियो । लक्षित वर्गको रकम पहुँचवालाको हातमा गएको भन्दै लक्षित समुदायका स्थानीय आक्रोशित भएर वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा कार्यालयले विनियोजन गरेको एक लाख रकम गाउँका टाठाबाठाहरुले किर्ते हस्ताक्षरगर्दै ३० हजार रुपैयाँ पेश्की बुझेको आरोप स्थानीयको छ । बाँकी ७० हजार भुक्तानीका लागि अमरगढी नगरपालिकामा सिफारिस गरिएको थियो । सो टोलका ३० घरधुरी दलित परिवारलाई लक्षित गरेर विनियोजित रकममा १२ परिवारले मात्रै अनुदानमा बाख्रा पाएका छन् ।

तालाबन्दीपछि दुई लाख ५० हजार रकम विनियोजन गरिएको र सो टोलमा बसोबास गर्ने सबै दलित परिवारलाई बाख्रापालनका लागि बाख्रा उपलब्ध गराउने सहमति भएको स्थानीयले बताए । पहुँचविहीन विपन्न १८ परिवारलाई थाहै नदिएर पहुँचवाला १२ परिवारका दलित अगुवाहरुलाई मात्रै बाख्रा दिएपछि वडास्तरमा विरोध भएको हो ।

डेढ लाख रकम थपगर्दै अढाई लाख बजेटमा सबै दलित परिवारलाई बाख्रपालन अनुदान दिने सहमति भएको वडा अध्यक्ष लोकबहादुर ऐरले बताए । बजेट बढाएर सबै दलित परिवारलाई बाख्रा दिने सहमति भईसकेकाले वडा कार्यालयमा लगाईएको ताला खुलाइने वडा अध्यक्ष ऐरले बताए । सो टोलका थप १८ दलित परिवारहरु पनि बाख्रा पालन गर्न ईच्छुक भएपछि बजेट थप्ने सहमती भएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएकाले बजेट आउनमा ढिलाई भएपछि आक्रोशित स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेको वडा अध्यक्ष ऐरले जानकारी दिए । पहिले छनौट गरिएका १२ परिवारलाई भने वडा कार्यालयले बाख्रा वितरण गरिसकेको छ । अब थप १८ दलित परिवारलाई पनि प्रति घरधुरी एक बाख्रा वितरण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्