व्यवसायीलाई राहतको कार्यक्रम ल्याउन पोउवा संघको माग



न्युज अफ नेपाल, कास्की ।

पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोष तत्काल प्रयोगमा ल्याउन माग गरेको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका व्यवसायीहरु कार्यविधि नै नबन्दा निराश बनेको बताउनु भयो।

‘मृत्युपछि ओखतीको काम हुँदैन’,अध्यक्ष अधिकारीले भन्नुभयो,’घोषणाको लागि मात्र कोष बनेको हो भने एउटा कुरा, हैन भने सो कोष तत्काल कार्यान्वयनमा आउनुपर्छ भन्ने पोखरा उद्योग वाणिज्य संघको माग रहेको छ ।’ उहाँले ढलेका व्यवसाय उठाउन राज्यबाट सहयोगको टेकोे दिइयोस् भन्ने निजी क्षेत्रको माग रहेको बताउँदै नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ को मौदिक नीतिमार्फत् घोषणा भएको राहत प्याकेजहरु वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा जोड दिनुभयो।

लकडाउन र निषेधाज्ञा त खुले पनि उद्योग/व्यवसायले गति लिन नसकेको उहाँको भनाई थियो । अध्यक्ष अधिकारीले कोभिड–१९ ले सृजना गरेको विषतमताकै बीच कतिपय व्यवसायीहरु पलायन भएका तथा धेरैजसो व्यवसायीहरु बैंकबाट लिएको कर्जाको साँवा र ब्याज कसरी बुझाउने भन्ने तनावमा रहेको बताउनु भयो।

मेलाबाट ८ लाख वचत

यता पोखरा उद्योग वाणिज्य संघले गएको बर्षमा आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट करिब ८ लाख ९० हजार ९२१ लाख वचत भएको जनाएको छ ।

अध्यक्ष दामु अधिकारीका अनुसारले संघले प्रवेश टिकटबाट १५ लाख ३१ हजार तथा विभिन्न शीर्षकमा भएका प्रायोजक लगायतका स्रोतबाट ८२ लाख ९२ हजार ४०० गरि ९८ लाख २३ हजार ४०० आम्दानी गरेको थियो । सबै खर्च कटाउँदा वचत रकम कम भएको उहाँले जानकारी दिनुभयो।

संघले वचतको लागि मेला आयोजना नगरेको प्रष्ट पार्दै अध्यक्ष अधिकारीले उद्यमशीलता विकास तथा उपभोक्ता र उत्पादकलाई एउटै थलोमा भेट गराउनु मेलाको उदेश्य भएको जिकिर गर्नुभयो। उहाँले कोरोनाका कारण आम्दानीका हिस्सा अझै संघको खातामा नआएको जनाउँदै भुक्तानी पनि फरफारक हुन नसकेको प्रष्ट पार्नुभयो।

संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले मेला र महोत्सवको प्रवर्तक संघले कोरोना कहर सकिनासाथ मेलाको आयोजना गर्ने जानकारी दिनुभयो । कोरोना कहर नसकिएकोले सुरक्षित रहँदै व्यवसाय गर्न उहाँले व्यवसायीहरुसँग आग्रह गर्नुभयो। संघका महासचिव अर्जुन पोखरेलले लामो इतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघ व्यवसायीको हकहितको अलावा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको स्मरण गराउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघले २०७६ पुस १८ देखि २८ गतेसम्म आयोजना भएको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला,२०७६ को आयोजना गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना, पोखरा महानगरपालिकाको सहयोग, नेपाल पर्यटन वोर्ड तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा लगानीको सम्वर्दन : उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोषसहित आयोजित मेलाको मुख्य प्रायोजकमा समृद्धि स्टिल्स,सहप्रायोजकमा शिवशिखर कृषि सहकारी संस्था लिमिटेडको उपकार ब्राण्ड रहेका थिए ।

मेलालाई नेपाल टेलिकम,आइएमई ग्रुप,गरिमा विकास बैंक,एनएमबि बैंक,गोल्छा अर्गनाइजेसन,एनआइसी एसिया बैंक,कुमारी बैंक,हिमश्री फुड्सको रारा चाउचाउ,बरुण बेभरेज,विजय डिष्टिलरी,हाइलाइफ फुड प्रोडक्ट,सगरमाथा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, हरपल चामल, गृहलक्ष्मी ग्याँस, गोल्डेन हाउस पार्टी प्यालेस,मेइसन दि रिभ (मेरो घर), अन्नपूर्ण फुडस् एण्ड वेभरेज प्रालि, बंगलामुखी एम्युजमेण्ट प्रालिलगायतले विभिन्न विधामा सहयोग गरेका थिए । मेलाको हस्पिटालिटी पार्टनर कुटी रिसोर्ट, मेलाको प्रवेश टिकटमा दैनिक लक्की ड्रमार्फत प्रदान गरिने उपहार प्रदान गर्ने हनुमान प्याराग्लाइडिङ प्रालि,स्काई बर्ड प्याराग्लाइडिङ प्रालि तथा द सोनिका अटोमार्ट प्रालि थिए ।

मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समितिका सभापति श्री दिलसुन्दर श्रेष्ठको संयोजकत्वमा ४५१ सदस्यीय मेला मुल आयोजक समिति तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्षको अध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको थियो ।

सोमबार नै बसेको मुल समारोह समिति तथा कार्यसम्पादन समितिको बैठकले मेलाको आय–व्ययको विवरण पारित गरेको थियो भने दुबै समिति विघटन पनि गरिएको थियो । मेला सम्पन्न गर्न २८ वटा उपसमितिको गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्