पीसीआर गरे पनि होम क्वारेन्टिन अनिवार्य



रामधन राई, खोटाङ ।

एकै दिन तीन जना कोरोना संक्रमित फेला परेपछि खोटाङको खोटेहाङ गाउँपालिकाले पिसिआर गरे पनि अनिवार्य होमक्वारेण्टिनमा वस्नुपर्ने प्रावधान वनाएको छ । गाउँपालिकाले विदेशबाट आउनेक्रममा पिसिआर परीक्षण गराएकै भए पनि अनिवार्य होम क्वारेन्टीनमा राख्ने प्रावधान वनाएको हो ।

विदेशबाट आउने व्यक्तीले गाउँपालिका प्रवेश गर्दा अनिवार्य पिसिआर परीक्षण गरेको हुनुपर्ने र पिसिआर परीक्षण गरेको भए पनि तोकिएको अवधिसम्म अनिवार्य होमक्वारेन्टनमा राख्ने गाउँपालिकाले जनाएको छ ।

विदेशबाट घर फर्कनेक्रममा गाउँपालिका प्रवेश गर्ने व्यक्तीले अनिवार्य होम क्वारेन्टीनमा बस्नका लागि सम्वन्धित वडा कार्यालयसँग कबुलियतनामा गर्नुपर्ने व्यवस्था गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनुभयो । विदेशबाट आउने व्यक्तीले गाउँपालिका प्रवेश गर्दा पिसिआर परीक्षण नगरेको भए गाउँपालिकाले तोकेको क्वारेन्टीनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ ।

स्वदेशका विभिन्न स्थानबाट गाउँपालिका प्रवेश गर्ने व्यक्तीले सम्वन्धित वडासँग कबुलियतनामा गरेर तोकिएको अवधिसम्म अनिवार्य होम क्वारेन्टीनमा बस्नुपर्ने गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जारी गरेको सूचनामा गाउँपालिकाको सूचनाको उल्लंघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने उल्लेख छ ।

विदेशबाट कोरोना नेगेटिभ रिपोर्ट लिएर आएका खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका एक जना र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका एक जना पुरुषलाई असोज १७ गते कोरोना पोजिटिभ देखिएको थियो । संक्रमितमध्ये इन्द्रेणीपोखरीका पुरुष हप्ता दिनअघि साउदीअरवबाट र लिच्कीराम्चेका पुरुष पनि हप्ता दिनअघि कतारबाट आएका हुन् । विदेशमा कोरोना नेगेटिभ देखिए पनि उनीहरुलाई होमक्वारेन्टीनमा राखिएको अवस्थामा पुनः पिसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

खोटेहाङमा ७ जनाको पिसिआर परीक्षणमा पठाउँदा तीन जनालाई कोरोना पोजिटिभ भएको पूष्टी भएको थियो । अर्का संक्रमित खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका पुरुष छन् । उनी ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्