कांग्रेसको सहयोगमा विपन्नलाई घर



न्युज अफ नेपाल, हेटौंडा।

मकवानपुरका तरुण नेताहरुको पहलमा हेटौंडा–१, भैरवडाँडाका पाण्डु बिकले घर पाएका छन् । जीर्ण घरमा कष्टपूर्णढंगले बस्दै आएका बिकको घर निर्माणका लागि तरुण नेता विकेशलाल श्रेष्ठले पहल गर्नुभएको थियो ।

लामो समयको प्रयास र निरन्तरताले सफलता हात परेको छ । ३ महिनाअघि सुरु गरिएको भवन निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण गरिएको हो । बिकलाई दुई कोठाको घर निर्माणपश्चात् सोमबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् नेपाली कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले हस्तान्तरण गर्नुभएको हो ।

नेता बानियाँले विपन्न र समस्यामा परेकालाई सहयोग गरेकोमा श्रेष्ठसहित दातालाई धन्यबाद दिँदै यस्ता सामाजिक काममा निरन्तरताका दिन आग्रह गर्नुभयो । उहाँले राज्यले गर्नुपर्ने काम गरेको भन्दै दाताहरुको प्रशंसा गर्नुभयो । नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले बिकको परिवारलाई गरिएको सहयोगप्रति खुशी व्यक्त गर्नुभयो ।

दुई कोठाको घर र एक शौचालय निर्माणका निमित्त २ लाख ४४ हजार एक सय ३६ रुपिया“ खर्च लागेको बताइएको छ । घर निर्माणका लागि वडा–१ अध्यक्ष सबिन न्यौपाने, युवा व्यबसायी राजेश भेटवल र दिनेश मैनालीले निकै सहयोग गर्नुभएको थियो । पाण्डुकी एक पत्नी र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्