कोरोनाका कारण कारागारमा रहेका कैदीबन्दी उच्च जोखिममा



न्युज अफ नेपाल, पर्वत । 

बिश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण कारागारमा रहेका कैदी बन्दीहरु उच्च जोखिममा परेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

देशभर कारागारको अनुगमनका निस्किएको आयोगको टोलीले बढी भिडमा बस्ने र पारिवारीक सम्पर्कबाट समेत टाढा हुँदा कारण कारागारहरुमा रहेका कैदीबन्दीहरु पनि उच्च जोखिममा रहेको बताएको हो । आयोगले मुलुकभरका २७ वटा कारागारको अनुगमन गरिरहेको छ ।

कारागारको अनुगमनका क्रममा पर्वत आईपुगेका टोलीका संयोजक तथा आयोगका सदस्य सुदिप पाठकले पक्राउ गरेर कारागार ल्याउने क्रममा तथा बयानका क्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नहुँदा कैदीबन्दीमा संक्रमण बढेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।

‘परिवारबाट टाढा हुने तथा मनोवल कमजोर बनाउने अवस्थामा भीडभाडमा बस्ने कैदीबन्दीहरु सबैभन्दा बढी प्रभावित भैरहेका छन।’ उहाँले भन्नुभयो ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पछि कैदीबन्दीहरु बढी जोखिममा देखिएका छन, उनीहरुलाई सुरक्षित बनाउनु हाम्रो दायित्व हो।’

पछिल्लो समयमा कारागारमा रहेका कैदीबन्दीहरु संक्रमित हुने क्रम बढेको हुनाले कैदीबन्दीलाई संक्रमणबाट कसरी जोगाउन सकिन्छ भनेर आयोगले मुलुकभरका २७ वटा कारागारको अनुगमनका क्रममा २३ कारागारको अनुगमन पुरा भएको जनाएको छ । २७ वटै कारागारको अनुगमन पछि प्रतिबेदन पेश गर्ने र त्यसमा सुधारका प्रयास गरिने सदस्य पाठकले बताउनुभयो । कारागारमा नयाँ आउने कैदीबन्दीलाई पिसिआर परिक्षण पछि मात्रै पठाउने र अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्न तथा बयानका लागि अदालत र सरकारी वकिल कार्यालयमा लैजादा पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गराउन सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

पर्वत कारागारमा जम्मा २५ जना कैदीबन्दीको क्षमता छ । गएको बर्षातमा महिला बन्दीगृहको सुरक्षा पर्खाल भत्किएपछि महिला बन्दीहरुलाई छिमेकी जिल्लाहरु बागलुङ्ग र मुस्ताङ्ग पठाउँदै आइएको छ । अहिले पनि २५ जनाको क्षमता भएको कारागारमा ९२ कैदीबन्दी रहेका छन ।

अनुगमनका क्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जिल्लामा अहिले सम्म कारागारमा संक्रमण नदेखिएको र सबै सुरक्षा मापदण्ड पुरा गरेर मात्रै राख्ने गरिएको जानकारी गराउनु भयो । पर्वत कारागारमा ल्याउने कैदीबन्दीमा पिसिआर परिक्षण पछि ल्याइएको, भेटघाटमा बन्देज लगाइएको तथा बाहिरबाट सामान ल्याउँदा समेत सुरक्षाका मापदण्ड पुरा गरेर मात्र ल्याउने गरिएको जानकारी जेलर शिला श्रेष्ठले दिनुभयो । पिसिआर परिक्षण नभए सम्म छुट्टै स्थानमा राखिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्