विज्ञको सुझावलाई लत्याएर राजधानी सार्ने प्रस्ताव ल्याउनु षड्यन्त्र : प्रमुख सचेतक खाँण



यमलाल भुसाल, बुटवल ।

नेपाली कांँग्रेस संघीय संसदका प्रमुख सचेतक बालकृष्ण खाँणले बुटवलमाभएको शान्तिपूर्ण आन्दोलनमा सहभागी पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको घटनाको भ्रत्सर्ना गर्नु भएको छ ।

विशेष समिति र विज्ञहरूको सुझावलाई एकातिर पन्छाएर प्रदेश सरकारले षड्यन्त्रपूर्ण तरिकाले नयाँ ठाउँमा प्रदेश ५ को राजधानी सार्ने प्रस्ताव ल्याउनुले यस क्षेत्रका जनता आन्दोलन र प्रतिकारमा उत्रिनुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै खाँणले प्रदेश सरकारले ल्याएको गलत प्रस्ताव सच्याउन स्वतस्फूर्त शान्तिपूर्ण रूपमा बैठक, भेला र कार्यक्रममा सहभागीआमनागरिक,उद्योगी,व्यवसायी,पत्रकार,पार्टी नेता तथा कार्यकर्ताहरूलाई तानाशाही शैलीमा धरपकड गरि गिरफ्तार गर्नु खेदजनक रहेको टिप्पणी गर्नु भएको छ ।

पुर्व मन्त्री समेत रहनु भएका कांँग्रेस नेता खाँणले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरि लोकतान्त्रिक मुल्य मान्यताको उपहास हुनेगरी प्रदेश सरकारले आफ्नो निर्णय कार्यान्वयन गराउन निषेधाज्ञा जारी गर्ने,आम नागरिकमा डर त्रास र भय सृजना गर्ने,धरपकड गरेर गिरफ्तार गर्ने जस्ता कार्य गरेर सरकारले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको जनाउँदै सो कार्यको भ्रत्सर्ना गर्नु भएको छ ।

प्रदेशको राजधानी सार्ने निर्णयको बिरोधमा शान्तिपूर्ण रूपमा आन्दोलनमा सहभागी हुन रूपन्देहीवासीलाई आग्रह गर्दै खाँणले शान्तिपूर्ण रूपमा बिरोध प्रदर्शन,प्रतिकारमा उत्रने नागरिकलाई दमन,धरपकड र गिरफ्तार नगर्न सरकारलाई सचेत गराउनु भएको छ ।गिरफ्तार गरिएका सबैलाई बिनासर्त रिहा गर्न समेत उहाँले माग गर्नु भएको छ ।

राजनीतिक पूर्वाग्रह राखी प्रदेश सरकारले राजधानी सार्न खोज्नु यस क्षेत्रका जनताको भावना बिपरित भएको भन्दै खाँणले निषेधाज्ञा जारी गरेर जबर्जस्ती प्रस्ताव पारित गर्ने कार्य स्थगन गरि बुटवललाई नै राजधानी कायम गर्न माग गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्