मध्यपहाडी लोकमार्गको निर्माण ६ महिनापछि शुरू



दुर्गाप्रसाद शर्मा, पर्वत
कोभिड १९ को प्रकोप शुरू भएपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुचारु भएको छ । गएको चैतको दोस्रो सातादेखि रोकिएको निर्माण कार्य असोजको दोस्रो सातादेखि शुरू भएको हो ।
पर्वत खण्डको निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले वर्षा रोकिएपछि निर्माण कार्य शुरू गरेको हो । भदौ महिनामा निर्माण कार्यको म्याद सकिने भए पनि अहिलेसम्म ६० प्रतिशतभन्दा बढी मात्रै काम सकिएको छ । ‘लक डाउनलगायतका कारणले रोकिएको भए पनि अब काम तीव्र रुपमा अघि बढ्छ ।’ निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले भन्नुभयो–‘घाम लागेका कारण दशैंपछि कालोपत्रेको काम पनि शुरू गर्छौ ।’
निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतीको कम्पनीले ८३ करोड ९८ लाख रुपियाँमा ठेक्का लिएको हो । पर्वत खण्डको २३ किलोमिटरमध्ये स्टक्चरको काम ९५ सकिएको छ । बागलुङको सिमाना मालढुंगादेखि नयाँपुलसम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ । बाढी र पहिरोका कारण त्यो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण फेरि कालोपत्रे गर्नुपर्ने अवस्था छ । ‘अहिले बाँकी रहेको स्टक्चरको काम र बेस राखेको ठाउँमा वर्षाका कारण बिग्रेको खण्डलाई तयार गराउने काम शुरू भएको छ ।’ प्रोजेक्ट म्यानेजर भुसालले भन्नुभयो–‘बाँकी काम पनि यसै आर्थिक वर्षमा सबै काम पूरा गर्ने तयारीसहित काम अघि बढाएका छौं,’ पहिले जस्तो विभिन्न कारणले काम रोकिने अवस्था नभएको र अब निरन्तर काम हुने भुसालको भनाइ छ ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले काम शुरू गरेको व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधनसमेत परिचालित भएकाले असारसम्ममा नै काम सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्माण व्यवसायीले असारसम्मको म्याद मागेका कारण पनि समयमा नै कालोपत्रेको काम सक्ने जानकारी दिनुभयो । ‘अब व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति र स्रोत साधनसहित काम अघि बढेको छ ।’ उहाँले भन्नुभयो–‘अब राम्रोसँग काम अघि बढ्छ, तोकिएकै समयमा काम पूरा हुन्छ।’
रोकिएको काम शुरू भएपछि लोकमार्गको पर्वत खण्डमा पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितको टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा प्रजिअ रेग्मीले अब अहिलेसम्म जे जस्तो अवस्था भए पनि अब बिना अवरोध काम सक्न निर्देशन दिनुभयो । उहाँले स्थानीयस्तरमा देखिने समस्यालाई सहजीकरण गर्न प्रशासन तयार रहेको बताउँदै काम छिटो र गुणस्तरीय बनाउन आग्रह गर्नुभयो ।
यसैबीच मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्ड स्तरोउन्नतीका क्रममा पर्वतको कुस्माबजार खण्डको सडक चार लेनको बन्ने भएको छ ।
कुस्माको खरेहादेखि डम्डारेखोलासम्मको झण्डै २ किलोमिटर खण्ड चार लेनको बन्ने आयोजना प्रमुख आशिष थापा मगरले बताउनुभयो ।
पहिले दुई लेनकै सडक बनाउने स्टिमेट भएपनि अहिले चार लेनको रुपमा स्तरउन्नती गर्ने निर्णय हुन लागेको छ । त्यसका लागि आबश्यक सबै तयारी सकिएका कारण चार लेनको सडक बन्ने कुरा पक्का भएको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्