लथालिंग बने कपडा बैंक



नेपाल समाचारपत्र, हेटौंडा

गत वर्ष कपडा बैंक हेटौंडा बजारमा भटाभट खुले । ती कपडा बैंकहरु प्रभावकारी बन्दै पनि गए । तर, पछिल्लो समय हेटौंडाका अधिकांश कपडा बैंकहरु लथालिंग अबस्थामा छन् ।

हेटौंडामा हेटौंडा युवा अभियान, तरुण दल र सहयोगी हात र लायन्स क्लब अफ हेटौंडा भुटनदेवीले कपडा बैंक सञ्चालन गरेका थिए । हाल ती बैंक लथालिंग छन् भने लायन्स क्लबको सटर बन्द अबस्थामा छ ।

कोरोना महामारी सुरु हुनुअघि हजारौं विपन्न तथा असहायहरु कपडा बैंकबाट लाभान्वित भएका थिए । कोरोना महामारी फैलिएसँगै कपडा बैंक कुनै लथालिंग बन्न पुग्यो, कुनै बन्द हुन पुग्यो । हेटौंडा बसपार्कमा सहयोगी हातले सञ्चालनमा ल्याएको बैैंक भने सामुदायिक कुकुरको बासस्थान हुन पुगेको छ ।

हेटौंडा युवा अभियानको हुप्रचौरमा रहेको बैंकका कपडा भुइँभरि छरपष्ट छ भने तरुण दल मकवानपुरले सानोपोखरा चोक र चौकीटोल ओरोलोमा राखेको बैंकको हालत पनि उस्तै छ । लायन्स क्लब अफ हेटौंडा भुटनदेवीले सुमार्गी कम्प्लेक्सको सटरमा राखेको बैंक हाल बन्द अबस्थामा छ । कोरोने महामारीकै कारण लथालिंग बन्न पुगेको अभियन्ताहरुको भनाइ छ ।

लायन्स क्लब अफ हेटौंडा भुटनदेवीकी अभियन्ता अंकिता सुमार्गी भन्छिन्–कोरोनाको कारण नै बैंक सञ्चालनमा आउन नसकेको हो । कपडाबाट महामारी फैलने डरले बैंक बन्द गरिएको सुमार्गीले स्पष्ट पारिन् । दशैंको घटस्थापनादेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कपडा बैंक पुनर्संञ्चालनमा ल्याउन लागिएको उनले बताइन् ।

तरुण दल हेटौंडा उपमहानगर अध्यक्ष सुनिल गिरीले आफूहरुबाट केही कमजोरी रहेको बताउँदै कोरोना महामारीकै कारण बैंक लथालिंग बन्न पुगेको दाबी गरे । गिरीका अनुसार दशैंको समयमा बैंक रेखदेख र व्यबस्थितका साथ पुनर्संञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । चौकीटोलमा रहेको बैंकलाई हेटौंडा—४ को हुप्रचौरमा स्थानान्तरण गरिने उनले जानकारी गराए ।

हेटौंडा युवा अभियान संस्थापक अध्यक्ष साकार शिवाकोटीले भने–यसमा स्थानीयको समेत साथ र सहयोग हुनुपर्छ । लामो समय सञ्चालन गराउन नसक्नु आफ्नो कमजोरी रहेको बताउँदै उनले यस कार्यलाई निरन्तरता दिन सबै पक्षको साथ र सहयोग चाहिले बताए ।

‘आज मिलाएर आएको कपडा भोलिपल्ट जाँदा छरपष्ट हुने गरेका छन्,’ उनले दुःखेसो गरे । कपडा लिन आउनेमा पनि आफूले चाहेको कपडामात्र रोजेर लैजाने र बाँकी सबै जस्ताको तस्तै राख्ने ज्ञान हुनुपर्ने शिवाकोटीको भनाइ छ ।

गत वर्ष दशैैंको समयमा थुप्रै कपडा गएको अभियन्ताहरुको भनाइ छ । गत वर्ष हेटौंडालगायत देशका विभिन्न स्थानमा कपडा बैंक सञ्चालन आएको हो । सुकुम्बासी टोलका कडा परिश्रम गर्ने कामदार, विपन्न समुदाय र वृद्धवृद्धा बैंकबाट लाभान्वित भएका थिए ।

आफूले लगाएका पुराना तथा पुनर्प्रयोग गर्न मिल्ने कपडा बैंकमा सहयोग गर्न चाहनेले घटस्थापनाको समयमा सम्पर्क गर्न अभियन्ता सुमार्गीले आग्रह गरिन् ।

आफूले लगाइसकेको तर प्रयोग गर्न मिल्ने खालका कपडा छन् भने कपडा बैंकमा ल्याएर जम्मा गर्न सकिने, कतिपयका घरमा कपडा यत्तिकै फाल्तु बसिरहेका हुन्छन् । त्यसलाई सफा गरेर बैंकमार्फत् विपन्नलाई दिन सकिने अभियन्ता गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्