विशाल ग्रुपको दाबी सफेद झूट प्रमाणित



विशाल ग्रुपको संलग्नताको प्रमाण
सरकारी निकायमाथि प्रभाव देखाएर पक्राउ परेका सात व्यक्तिलाई छुटाउने शक्ति विशाल ग्रुपले देखाए पनि मिति नाघेका चक्लेटलगायतका वस्तुको वितरणमा उसको संलग्नता नरहेको दाबीलाई भने देहायका प्रमाणले सफेद झूट सावित गरिदिएका छन् ः

रोनक बोथ्रा
यो रोनक बोथ्राको फेसबुक प्रोफाइलको स्क्रीन सट हो । शुक्रबार राती नै कसैले उनको फेसबुक एकाउन्ट बन्द गरिदियो । नेपाल समाचारपत्रले बिहीबार नै उनको फेसबुक प्रोफाइलको स्क्रीन सट लिन भ्याएका कारण यो तस्बीर देखाउन सम्भव भएको हो । यसले प्रष्टरुपमा भारतको राजस्थानका रोनक बोथ्रा एमेजन डिस्ट्रिब्युटर विशाल ग्रुपको अंग हो भन्ने प्रमाणित हुन्छ ।

एमेजन डिस्ट्रिब्युटर फेसबुक पेज
फेसबुकमा एमेजन डिस्ट्रिब्युटर प्रालिलाई विशाल ग्रुपको अंग भनिएको छ । सन् २०१२ को जुलाई २७ देखि सञ्चालित यस फेसबुक पेजमा प्रस्तुत विवरण आज पनि देख्न सकिन्छ । यसले पनि एमेजन डिस्ट्रिब्युटर्स विशाल ग्रुपसँग आबद्ध रहेको प्रमाणित हुन्छ ।

जितु अग्रवाल
जितु अग्रवालले आइतबार दिनभरि आफ्नो फोनको स्वीच बन्द गरेको हरेक आधा–आधा घण्टामा फोन गर्दा आउने टोनले प्रमाणित गर्दछ । तर, अग्रवालले आइतबार नै लिङ्क्ड इनबाट आफ्नो फोटोचाहिँ मेट्न भ्याउनुभयो ।

तर, लिङ्क्ड इनको विवरणले उहाँ लाइफ केयर डिस्ट्रिब्युटर्समा २०१३ देखि आजसम्म पनि काम गर्दै आएको पुष्टि गर्दछ । उता, अग्रवाल २००६ देखि एमेजन डिस्ट्रिब्युटर्सको प्रबन्धनिर्देशक रहेको पनि सोही सामाजिक सञ्जालबाट प्रमाणित हुन्छ ।

पुष्पादेवी अग्रवाल जो उमेरले ज्येष्ठ नागरिक हुनुहुन्छ, जितु अग्रवालकी आमा हुनुहुन्छ । आयान डिस्ट्रिब्युटर्सका सञ्चालकमा पुष्पादेवीको नाम छ । स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रमा पुष्पादेवी अग्रवालको फोटो टाँसिएको छ ।

मनोज शाह
मनोज शाहको लिङ्क्ड इन प्रोफाइलमा लाइफ केयर डिस्ट्रिब्युटर विशाल ग्रुप हो भनेर प्रस्ट लेखिएको छ । त्यसैले लाइफ केयर डिस्ट्रिब्युटर, एमेजन डिस्ट्रिब्युटर सबै विशाल ग्रुपकै अंग भएको प्रमाणित हुन्छ ।

विशाल ग्रुपको प्रेस वक्तव्य
विशाल ग्रुपले शनिबार जारी गरेको प्रेस वक्तव्यमा आयान डिस्टिब्युटर्ससँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेको छ ।

एमेजन डिस्ट्रिब्युटर्सका बारेमा केही बोलेको छैन । चलाखीपूर्ण तरिकाले निकालिएको प्रेस वक्तव्यमा उसको संलग्नता छैन कि जस्तो भान दिन खोजिएको छ ।

तर, एमेजन डिस्ट्रिब्युटर्सको बारेमा केही नबोलेर विशाल ग्रुपले ऊसँगको संलग्नता पुष्टि गरेको छ । कर्पोरेट क्षेत्रमा सबैलाई थाहा छ, लाइफ केयर डिस्ट्रिब्युटर्स विशाल ग्रुपकै एक अंग हो ।

कागजीरुपमा चोखिने प्रयास गरे पनि आमउपभोक्ता र व्यापारिक क्षेत्रले विशाल ग्रुपको असली अनुहार प्रस्ट चिनिसकेको छ ।

केयर डिस्ट्रिब्युटर्सले विशाल ग्रुपको ब्रिटानिया बिस्कुट्स, स्निकर्स, ट्याङ, प्रिन्जल्स, ट्विक्स, मार्सजस्ता चकलेटको वितरणको काम गर्दै आएको छ भनेर कसैबाट लुकेको छैन ।

………………………………………………………..

नेपाल समाचारपत्र, काठमाडौं ।

चकलेटजस्ता खाद्यवस्तुको प्रभावशाली वितरक विशाल ग्रुपले वितरण गर्दै आएका करिब एक अर्ब रुपियाँका वस्तु उपभोग्य मिति सच्याई बिक्रीवितरण गर्न लागेकोमा सरकारले छापा मारेपछि उसले आफ्नो संलग्नता छैन भनी गरेको दाबी सफेद झूट साबित भएको छ ।

महानगरीय प्रहरी महाशाखाले छापा मारेर ‘रिलेबलिङ’गरिएका चक्लेटलगायतका खाद्यवस्तु जफत गरेपछि शनिबार विशाल ग्रुपले नेपाल समाचारपत्रलगायतका मिडियामा विज्ञापनका रुपमा प्रेस विज्ञप्ति प्रकाशित गराएको थियो । त्यस प्रेस विज्ञप्तिमा उसले ‘आयान डिस्ट्रिब्युटर्ससँग हाम्रो केही सम्बन्ध छैन’ भनेको छ ।

‘सही–गलत जे गरेको भए पनि उसैले जान्दछ’ भन्ने आशय व्यक्त गरेको थियो । तर, भेटिएका विभिन्न प्रमाणले विशाल ग्रुपबाटै मिति नाघेका ९५ करोडभन्दा बढी मूल्यका सामानहरू बेच्ने प्रयास भएको प्रमाणित गरेका छन् । विशाल ग्रुपले एमेजन डिस्ट्रिब्युटर्सको बारेमा प्रेस विज्ञप्तिमा चलाखीपूर्ण तरिकाले केही बताएको छैन ।

म्याद सकिएका सामान बजारमा पठाएको विषयमा महानगरीय प्रहरी अपराध महाशाखाले दुई साताअघिबाट अनुसन्धान शुरु गरेर आवश्यक प्रमाणसमेत जुटाएको थियो । महाशाखाले कालोबजारीअन्तर्गत मुद्दा चलाउन नमिल्ने कानुनी अडचनका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरेर मिति नाघेको सामाग्रीसहित आठ जनालाई रंगेहात पक्राउ गरेको थियो ।

गलत काम गर्ने व्यक्तिलाई पक्राउ गरेसँगै प्रहरी र विभागको निकै प्रशंसा भएको थियो तर, विभिन्न किसिमको प्रभावमा परेर आइतबार नै पक्राउ परेका व्यक्तिहरूलाई रिहाइ गरिसकिएको छ ।

स्निकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स चिप्ससहित बजारमा नियमित प्रयोगमा रहेका आधा दर्जन खाद्य वस्तुमा म्याद सकिएपछि पनि पुनः नयाँ म्याद राखेर बजार पठाउने गरेको प्रमाण विभागले भेटाएको छ । आयन डिस्ट्रिब्युटर र अमेजन डिस्ट्रिब्युटरमा छापा मारेर अखाद्य वस्तु बरामद गर्दै विभागले सिल गरेको छ ।

मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने यस प्रकारको वस्तु उत्पादन तथा वितरण गर्नेलाई कालोबजारी ऐन–३०३२, उपभोक्ता संरक्षण ऐन–२०७५ र खाद्य ऐन २०२३ अनुसार कारबाही हुने प्रावधान छ । तर वाणिज्य विभागले भने पक्राउ परेकामध्ये एक जनालाई मात्र हिरासतमा राखेर सात जनालाई तारेखमा रिहा गरेको छ ।

उपभोक्ता संरक्षण ऐनअन्तर्गत ५ वर्ष, खाद्य ऐनअन्तर्गत १ वर्ष र कालोबजारी ऐनअन्तर्गत जति वर्ष पनि कारबाही गर्न सकिने प्रावधान छ ।

मिति नाघेको खाद्य वस्तुलाई रि–लेबलिङ गर्दागर्दै रंगेहात पक्राउ परेका सात जनालाई वाणिज्य विभागले आइतबार सामान्य तारेखमा छोडेको छ । अवैध काम गर्ने व्यक्तिलाई गोदामै रंगेहात पक्राउ गरे पनि विभागले सामान्य तारेखमा छोडेको हो । पक्राउ परेका आठ जनामध्ये सात जना शुक्रबार नै धरौटी बुझाएर रिहा भएका छन् । रंगेहात पक्राउ परेका ३५ वर्षीय भारतीय नागरिक बोथ्रा भने प्रहरी हिरासतमा रहेका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन नागरिकहरूको स्वास्थ्यसँग गम्भीर असर गर्ने कार्यमा संलग्न व्यक्तिलाई सामान्य तारेखमा छोड्नु गलत भएको बताउनुहुन्छ । उहाँले प्रश्न गर्दै भन्नुभयो– ‘अवैध काम गर्ने व्यक्तिलाई रंगेहात पक्राउ परेर पनि सामान्य तारेखमा छोड्ने हो कि विभागले नियमअनुसार कारबाही गर्ने हो?’

बिहीबार कलंकी र बाफलबाट पक्राउ परेका रि–लेबलिङमा संलग्न वितरक कम्पनीकी सञ्चालक पुष्पादेवी अग्रवालसहित ७ जनालाई विभागले सुटुक्क धरौटीमा रिहा गरेपछि वाणिज्य विभागप्रति उपभोक्ताहरूले आक्रोश व्यक्त गरेका छन् । विगतमा पनि विभागले गलत काम गर्ने व्यक्तिलाई पक्राउ गरेर सामान्य धरौटी लिएर छोड्दै आएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी अनुसन्धानको क्रममा धरौटीमा रिहा गर्ने, हाजिर जमानीमा छोड्ने र थुनामा राख्ने सामान्य विषय भएको बताउनुहुन्छ । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कर्मचारीहरूलाई हाजिर जमानीमा छोडेका हौं, एक जना थुनामा छन्, थप व्यक्तिहरू पनि थपिँदै जाने देखिएको छ, हामीले गम्भीर ढंगले अनुसन्धान अगाडि बढाइरहेका छौं ।’ ‘गलत काम गर्ने मुख्य व्यक्तिको खोजी भइरहेको छ।’ –सुवेदीले भन्नुभयो ।

म्याद सकिएको खाद्य वस्तुमा पुनः रिलेबलिङ गर्ने कार्यमा विशाल ग्रुपको हात छ भन्ने विषय बाहिर आएको छ नि भन्ने जिज्ञाशामा उहाँले भन्नुभयो– ‘मलाई त थाहा छैन, कसैले अर्थ लगाएर जोड्छन् भने जोड्न दिनु न, अनुसन्धान गर्दै जाँदा कोही जोडियो भने त्यति बेला नै भनौंला ।’

विभागले आइतबार १ करोड धरौटी बुझाएपछि मुख्य आरोपित पुष्पादेवीसहित ७ जनालाई सामान्य तारेखमा छोडेको छ । ओरियो बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, प्रिङ्गल्समा नयाँ लेभल लगाएको भेटिएको थियो ।

गुज्रिसकेको उपभोग्य मिति मेटेर नयाँ मिति राखिरहेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाले रंगेहात पक्राउ गरेर बिहीबार वाणिज्य विभागको जिम्मा लगाएको थियो ।

हिरासतमुक्त हुनेमा झापा चन्द्रगढी घर भएकी पुष्पादेवी अग्रवाल, रौतहटको गौर नगरपालिका–३ मजकुटिया घर भई हाल काठमाडौंको बल्खु बस्ने मौजिलाल ठाकुरका छोराहरू मुन्ना ठाकुर र पप्पुकुमार ठाकुर, महोत्तरीको बनरा घर भई हाल काठमाडौंको कपुरधारा बस्ने आसाराम सिंहको छोरा श्यामप्रसाद सिंह छन् ।

त्यसैगरी धादिङको गल्छी–३ कल्लेरी घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने कान्छा बयलकोटीको छोरा रामबहादुर बयलकोटी, धादिङको नीलकण्ठ नगरपालिका–६ जल्केनी घर भई हाल काठमाडौंको कलंकी बस्ने बुदे उपरकोटीको छोरा सीताराम उपरकोटी र धादिङको सिद्धलेक गाउँपालिका–४ भेडावारी घर भई हाल काठमाडौंको बाफल बस्ने गुन्जबहादुर थापामगरको छोरा दिलीप थापामगर पनि हिरासतमुक्त भएका छन् ।

विभागका अनुसार बिहीबार पुनः हाजिर हुने गरी पक्राउ परेका सात जनालाई तारेखमा रिहा गरेको हो ।
प्रहरीले दुई साता लामो अनुसन्धानमार्फत प्रमाण जुटाएर रंगेहात पक्राउ परेका व्यक्तिलाई विभागले सामान्य तारेखमा छोडेकोप्रति असन्तुष्टि जनाएको छ ।

प्रहरीले कालोबजारीअन्तर्गत मुद्दा चलाउन नमिल्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वाणिज्य विभागसँग समन्वय गरेर संयुक्तरुपमा छापा मारेको थियो ।

महाशाखाका एक प्रहरी अधिकृत भन्छन्– ‘दुई साताको लगानी बालुवामा पानी जस्तै भयो, आशा गरौं, विभागले गलत काम गर्नेलाई कानुनी दायरमा ल्याएर कारबाही प्रक्रिया अघि बढाउला ।’

याे पनि….

बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमाथि चरम खेलवाड

प्रतिक्रिया दिनुहोस्