सल्यानमा घरमै पुगेर सुत्केरीको स्वास्थ्य चेकजाँच



सरुनानु चलाउने,  सल्यान ।

सल्यानमा सुत्केरी महिलाहरुलाई घरमै पुगी स्वास्थ्य सेवा दिन थालिएको छ । कोरोना महामारी फैलिएको समयमा सुत्केरी र नवजात शिशुमा संक्रमणको जोखिम उच्च हुने भएकाले जिल्लाको त्रिवेणी गाउँपाकिले घरमै स्वास्थ्यकर्मी परिचालन गरी सेवा प्रदान गरेको हो ।

नवजात शिशु र आमाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सुत्केरीको घरमै पुगी उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जाँचबुझ हुने त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताउनु भयो । ‘नेपाल सरकारको प्राटोकल अनुसार सुत्केरी भएको २४ घण्टा ३ दिन र ७ दिनमा जाँच गराउनु पर्ने भएकाले दुर्गमताका कारण स्वास्थ्य संस्था जान नसक्ने र त्यसमा पनि कोरोनाको महामारी फैलिएको समय भएकाले आमा र शिशुको स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्यकर्मी घर घरमा पठाईएको उहाँले बताउनु भयो । गाउँपालिकाका ६ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी सुत्केरीको घर घरमा पुगी स्वास्थ्य परीक्षण गरि रहेको उहाँको भनाई छ ।

गाउँपालिकाले घरमै स्वास्थ्य सेवा दिदा निकै सहज भएको वडा न ५ कैलेज्युलाकी सुत्केरी सुस्मिता रावतले बताउनु भयो । गाउँघरबाटै स्वास्थ्य सेवा पाएपछि स्वास्थ्य अवस्था प्रतिको डर, त्रास पनि कम भएको बताउनु भयो ।

गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सुत्केरी महिलाको घरमै पुगि स्वास्थ्य सेवादिने कार्यक्रमम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताउनु भयो । अबको केही दिनमा नै जेष्ठ नागरिकहरुलाई पनि घरदैलोमा नै स्वास्थ्य सेवा दिने गरी कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्