किमद्वारा ट्रम्पको स्वास्थ्य लाभको कामना, मोटोपना घातक हुन सक्ने



प्योङयाङ, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना पोजिटिभ भएको समाचार प्राप्त भएपछि उनका मित्र उत्तर कोरियाली नेता किम जोङ उनले शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन्। नेता किम जोङ उनले ट्रम्प र प्रथम महिला मेलानियाको कोरोना संक्रमण छिट्टै ठीक हुने पनि जनाएका छन्। ट्रम्पलाई ह्वाइट हाउसस्थित सैन्य अस्पतालमा लगिएको र अब उनले त्यहींबाट काम गर्ने बताइएको छ।
ट्रम्पमा कोरोना पोजिटिभ देखिएलगत्तै रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, जर्मन चान्सलर एन्जिला मर्केल, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताले स्वास्थ्य लाभको कामना गरेका छन्।
किमले ट्रम्पलाई पठाएको सन्देशमा आफूलाई राष्ट्रपति र प्रथम महिला कोरोना पोजिटिभ भएको बारेमा जानकारी प्राप्त भएको र दुवैको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको केसीएनए समाचार एजेन्सीले जनाएको छ।
यसअघि ट्रम्पले पनि किम जोङ उन बिरामी हुँदा उनका लागि सन्देश पठाएका थिए। केही समयअघि किम कोमामा गएको समाचारबाहिर आएको थियो।
यसबीच ह्वाइट हाउसका अन्य कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको समाचार बाहिर आएको छ। ट्रम्पलाई एन्टिभाइरल औषधि दिइएको चिकित्सकले बताएका छन्। ट्रम्पले ट्वीटमार्फत आफू ठीक भइरहेको जानकारी दिएका छन्।
६ फिट ३ इन्च अग्ला ट्रम्पको तौल धेरै भएको विज्ञले बताएका छन्। ७४ वर्षीय ट्रम्पको तौल१ सय १० दशमलव ७ किलोग्राम छ। उनको उमेर र तौल कोभिड बिरामीका लागि प्रतिकूल मानिएको छ। कोरोनाबाट मृत्यु हुनेमध्ये धेरैजसो ६५ वर्ष उमेर पूरा गरेका वृद्ध छन्। पछिल्लो शोधले मोटोपना भएकालाई पनि कोभिड–१९ उपचार प्रभावकारी नहुने गरेको देखाएको छ।
यसबीच ट्रम्पको पछिल्लो स्वास्थ्य स्थितिका बारेमा चिकित्सकले दिएको जानकारीमा उनलाई थकान र श्वास लिनमा कठिनाइ भएको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्