बजार अनुगमन : १ लाख ६४ हजारको सामग्री नष्ट (फोटो)



विनोद सिंह विष्ट, बैतडी
बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन कार्यलाई तीव्रता दिइएको छ । संयुक्त बजार अनुगमन समितिले जिल्लाको सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र मेलौली नगरपालिकामा अनुुगमन गरेको हो ।
अनुुगमनका क्रममा १ लाख ६४ हजार ७ सय ४७ रुपियाँ बराबरका म्याद सकिएका सामग्री बरामद गरी नष्ट गरिएको छ । सुर्नया गाउँपालिका बजार क्षेत्रमा अनुगमन गर्दा १ लाख १ हजार ६ सय ९० रुपियाँ बराबरका म्याद सकिएका सामग्री बरामद गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताउनुभयो ।
यस्तै दोगडाकेदार गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा २७ हजार ८ सय ४७ रुपियाँ बराबरको अखाद्य वस्तुु बरामद गरी नष्ट गरिएको हो । यसका साथै मेलौली नगरपालिकाका विभिन्न बजारबाट ३५ हजार २ सय १० रुपियाँ बराबरको सामग्री बरामद गरी नष्ट गरेको छ ।
एक हप्तादेखि जारी बजारमा अनुगमनका क्रममा म्याद गुज्रेको सामग्री फेला परेकोले मुचुल्का बनाएर नष्ट गरिएको उहाँले बताउनुुभयो ।
अनुगमनका क्रममा व्यापारीहरुलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गरिएको छ भने उपभोग्य मिति र लेभल हेरेर मात्र खरीद गर्न उपभोक्ताहरुलाई आग्रह गरिएको छ । उपभोक्ता अधिकारका विषयमा अझै पनि नागरिक जागरुक नभएकाले म्याद गुज्रेका सामग्री खरीद बिक्री भइरहेको लेखकले बताउनुभयो । अनुगमनका क्रममा धेरै जसो पसलमा मूल्यसूची नराखिएको, दर्ता नभएको पाइएकाले यथाशीघ्र प्रक्रियामा आउन व्यापारीहरुलाई आग्रह गरिएको छ ।
जिल्लाका १० ओटै स्थानीय तहका मुख्य बजारमा अनुगमन गर्न कार्यसूची रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख लेखकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्