पर्यटन मन्त्री भट्टराईद्वारा सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन



SONY DSC

डोटी, (नेस)
पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नुभएको छ ।
कालोपत्रेसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारिक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । विमानस्थल उद्घाटन गरिएसँगै यहाँका पहाडी जिल्लामा निमियतरुपमा जहाज चल्नेमा यहाँका स्थानीयबासी निकै खुसी भएका छन् ।
दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लामा रहेका विमानस्थलमा नियमितरुपमा जहाज सञ्चालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘यहाँका पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनका लागि भए पनि हामी नियमितरुपमा जहाज चलाउने छौं, जसमा स्थानीय नागरिकको पनि सहयोग आवश्यक पर्ने छ ।’
विमानस्थल उद्घाटनकै क्रममा मन्त्री भट्टराईले यहाँका पहाडी जिल्लामा नियमितरुपमा विमानस्थल सञ्चालनका लागि समिट एयरसहितका केही निजी विमान कम्पनीसँग सम्झौताको तयारी भइरहेको समेत जानकारी दिनुभयो । यहाँका विमानस्थलको टर्मिनल भवन तथा एटीसी भवन नयाँ निर्माणका लागि पनि आवश्यक पहल भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
यात्रु अभावको कारण देखाई लामो समयदेखि बन्द अवस्थामा रहेका यहाँका विमानस्थलको थप स्तरोन्नतिसमेत गरिने मन्त्री भट्टराईले प्रतिबद्धता जनाउनुभएको छ । त्यसैगरी ४९० मिटर लम्बाइको रनवे रहेको डोटीको दिपायल विमानस्थलको रनवेलाई एक हजार मिटर बनाउनका लागि अध्ययन गर्न मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण विभागबाट तत्कालै प्राविधिक टोली पठाइने मन्त्री भट्टराईले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘दिपायल विमानस्थल कुल एक हजार मिटर रनवेसहितको निर्माण गरिने छ, जसका लागि हामी छिट्टै प्रविधिक टोली पठाउँछौं, केही प्राविधिकहरु आइसक्नुभएको छ ।’
सोही कार्यक्रममा बोल्नुहुँदै डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आले मगरले आफूले निकै दुःख कष्ट गरेर दिपायल विमानस्थलको स्तरोन्नतिका लागि पहल गराएकाले यहाँका नागरिकको सहजता तथा पर्यटक भित्र्याएर आर्यस्तर वृद्धि गर्नका लागि भए पनि नियमितरुपमा जहाज सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले व्यक्तिगतरुपमा मन्त्रालयमा हात जोडेर दिपायल विमानस्थलको स्तरोन्नति तथा कालोपत्रे गराउन सफल भएको छु, दिपायलमा नियमितरुपमा जहाज चल्नुपर्छ, मैले के गर्नुपर्छ म फेरि पनि गर्न तयार छु ।’
विमानस्थल उद्घाटनकै क्रममा दिपायल आउनुभएका नागरिक उड्डयन प्राधिकरणका निर्देशक राजन पोख्रेलले दिपायललगायतका यहाँका अन्य विमानस्थलमा नियमित जहाज सञ्चालनका लागि पहल भएको र अर्को हप्तादेखि यहाँ जहाज चल्न शुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘दिपायल, पाटक, चैनपुरमा निमियत विमान सञ्चालनका लागि सबै प्रक्रिया पूरा भएको छ, अर्को हप्तादेखि जहाज निमियत हुनेछ ।’
कालोपत्रेको काम सकेर जहाजको पर्खाइमा रहेका यहाँका विमानस्थलमा नियमित जहाज सञ्चालन हुन सके यहाँको विकास हुनुका साथै पर्यटकको चहल पहल पनि बढ्नेमा यहाँका स्थानीयबासी निकै आशावादी भएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘राजधानी खोसिएर कैलाली सरेपछि यहाँका नागरिकमा निरासा छाएको छ, व्यापार व्यवसायमा पनि मन्दी छाएको छ, अब जहाज चलाउन सके यहाँको विकास अवश्य हुनेछ ।’
उक्त विमानस्थल उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका पर्यटन मन्त्री माया भट्टलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्