डोटीमा स्थानीय जातका कुखुरा पालनमा कृषकको आर्कषण



विमल विष्ट, डोटी
पछिल्लो केही समय यतादेखि डोटी जिल्लामा स्थानीय जातको कुखुरा पालन गर्ने कृषक बढेका छन् ।
यहाँका मुख्य बजारमा लोकल कुखुराको माग बढ्दै गएपछि सयौं किसानहरू व्यावसायिकरूपमै स्थानीय जातका कुखुरा पालनमा आकर्षित हुन थालेका छन्‌ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सुरज विकले बजारमा लोकल कुखुराको माग देखेरै स्थानीय जातका कुखुरा पालन गर्नुभएको छ ‌।
लोकल कुखुरा फर्म खोलेर उहाँले अहिले ५ लाख रुपियाँ लगानी गरी २ सयवटा चल्ला राखेर कुखुरापालन व्यवसाय शुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बजारमा लोकल कुखुराको माग पनि बढेको छ, ब्रोइलर कुखुराले बजारमा लोकल कुखुरा लोप हुन थालेकाले पनि मैले उक्त व्यवसाय शुरु गरेको छु, सफल हुने आस गरेको छु ।’
जिल्लाका प्रमुख बजारमा स्थानीय जातको कुखुरा प्रतिकिलो ५ सय ५० रुपियाँमा फर्मबाटै जिउँदो बिक्री हुने गरेको शिखर नगरपालिका–२ का अर्का कुखुरा व्यवसायी डबलबहादुर साउले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘अन्य व्यवसायमा भन्दा स्थानीय जातको लोकल कुखुरा पालन गर्दा राम्रो आयआर्जन गर्न सकिने भएकाले कुखुरा पालन व्यवसाय राम्रो छ ।’ जिल्लामा निजी तथा सरकारी अनुदानको रकमबाट कम्तीमा पनि एक दर्जनभन्दा बढी स्थानीय जातका कुखुरा पालनका लागि व्यावसायिक फर्महरु खुलेका छन् ।
ब्रोइलर कुखुराका कारण जिल्लामा स्थानीय जातका कुखुरा लोप हुँदै जान थालेपछि यहाँको प्रदेश सरकार पशुपन्छी विकास विभागको सहयोगमा जिल्लामा कुखुरा पालन व्यवसायीका लागि अनुदान रकम प्रदान गर्न थालेसँगै कुखुरा व्यवसायी बढ्न थालेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले युवा व्यवसायीलाई प्रोत्साहन गर्न भन्दै विभिन्‍न युवा लक्षित कार्यक्रम, बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋण र लगानीका कार्यक्रम ल्याए पनि कार्यन्वयन प्रक्रियामा भने निकै झन्झट रहेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका अर्का कुखुरा व्यवसायी रमेश अवस्थीले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘सरकारले लोकल कुखुरा पालनमा सहयोग त दिएको छ तर त्यसको कार्यान्वयन प्रक्रियामा भने निकै झन्झटिलो छ, व्यवसाय गर्छु भन्नेलाई सहजरुपमा ऋण दिए राम्रो हुने थियो ।’
जिल्लामा साना ठूला गरी कम्तीमा पनि सयभन्दा धेरै स्थानमा व्यावसायिकरुपमै स्थानीय जातको कुखुरापालन गर्न निवेदन दर्ता भएको पशु सेवा स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
सदरमुकाम आसपास र राजमार्ग क्षेत्रमा पछिल्लो समय युवा उद्यमीहरु स्थानीय जातको कुखुरापालन आकर्षित हुने क्रम बढ्दै गएको कार्यालयले जनाएको छ । राजमार्ग क्षेत्रमा स्थानीय जातका कुखुराको मासुका परिकार पाइने होटलहरुको सङ्ख्या पनि बढिरहेको अत्तरिया डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गको गैराका स्थानीय ललित मल्लले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यहाँका बजारमा लोकल कुखुराको मासुको माग बढेपछि अहिले राजमार्गमा खुलेका होटेलमा पनि लोकल कुखुराको मासुको माग पनि बढेको र व्यवसाय पनि फस्टाएको छ ।’
चिसो मौसम शुरु हुन थालेकाले चिसोमा लोकल कुखुराको सुपले स्वास्थ्यमा समेत राम्रो हुने तथा सामान्यतय रुघाखोकी ज्वरोसमेत हटाउने भएकाले पनि अहिले जिल्लाभरिमा लोकल कुखुराको माग दिन प्रतिदिन बढ्दै गएको केआईसिंह गाउँपालिका–५ मा लोकल कुखुरा पालन गर्दै आउनुभएकी माधवी चन्द शाहीले बताउनुभयो ।
मुख्य गरी प्रदेश सरकारले लोकल कुखुरा पालनमा अनुदान दिन थालेपछि जिल्लाभरिमा व्यावसायिकरुपमा स्थानीय जातका लोकल कुखुरा पालनतर्फ व्यवसायीहरुको आकर्षण पनि बढ्दै गएको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘रकम नभएर काम गर्न नपाई बेरोजगार भएका युवा उद्यमीलाई लक्षित गरी प्रदेश सरकारले लोकल कुखुरा पालनका लागि ऋण अनुदान दिएपछि जिल्लामा कुखुरा व्यवासायी बढेका हुन्, जसले गर्दा बेरोजगारको सङ्ख्या पनि घट्दै गएका छन् ।’
जिल्लाको दिपायल सिलगढी र शिखर नगरपालिकाका साथै जोरायल, बडिकेदार, केआईसिंह, बोगटान फुड्सिल, आदर्श, सायल तथा पूर्वीचौकी गाउँपालिकाका विभिन्न स्थानमा व्यावसायिकरुपमै धमाधम स्थानीय जातका लोकल कुखुरापालन व्यवासाय गर्न थालिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्